• ८ जेठ २०८१, मङ्गलबार

डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

blog

काठमाडौँ, वैशाख २८ गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले देशभरका विभिन्न ठाउँमा डढेलो तथा आगलागीबाट मृत्यु भएकाहरुप्रति समवेदना व्यक्त गर्दै पीडितलाई राहतको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।

आगलागी र डढेलोबाट पीडितहरुलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको पार्टीका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।

प्र्रमुख सचेतक लेखकले भन्नुभयो, ‘‘देशभरमा विभिन्न ठाउँमा आगलागी भएको छ, डढेलोले धेरै मानिसहरु पीडित र आक्रान्त भएका छन् । त्यसका तत्काल सरकारलाई डढेलोबाट, आगजनीबाट पीडित भएका मानिहरुलाई राहत र पुनस्र्थापना गर्नका लागि हामीले अनुरोध गरेका छौं ।’’

यसैगरी, बैठकले डढेलो तथा आगलागीबाट पाईप जल्दा देशका विभिन्न ठाउँमा खानेपानीको अभाव भएको भन्दै त्यसको पनि उचित व्यवस्था मिलाउन सरकारलाई सचेत गराएको छ ।

‘‘अर्को विषय तराई मधेशमा भूमिगत जलस्रोत खस्केको छ र पहाडमा पनि आगलागी र डढेलोका कारण विभिन्न ठाउँहरुमा खानेपानीका पाईपहरु जलेर देशभरका विभिन्न ठाउँमा खानेपानीको समस्या देखापरेको छ । तराई, मधेश र पहाडका विभिन्न ठाउँमा देखिएको खानेपानीको समस्यालाई उचित ढङ्गले सम्बोधन गर्न हामीले सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छौं ।’’  प्र्रमुख सचेतक लेखकले भन्नुभयो ।

त्यस्तै, कांग्रेसले नेता प्रकाशमान सिंह, केन्द्रीय सदस्य अम्विका बस्नेत, पूर्वमन्त्री शेषनाथ अधिकारीको शिघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ । काँग्रेसले पार्टी नेता सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।