• ८ जेठ २०८१, मङ्गलबार

पशुपतिक्षेत्र विकास कोष राजनीति गर्ने थलो होइन : पर्यटनमन्त्री तामाङ

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ पशुपति क्षेत्र विकास कोषको ३८ औँ वार्षिकोत्सव कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर : विमलबहादुर बिष्ट/रासस

काठमाडौँ, वैशाख २८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपतिक्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताउनुभएको छ ।

शुक्रबार पशुपतिक्षेत्र विकास कोषको ३८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै मन्त्री तामाङले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रुपमा हेर्न नहुने बताउनुभएको हो । उहाँले विगतमा पशुपतिक्षेत्र विकास कोष गैरराजनीतिक आध्यात्मिक थलो भएको बताउनुभयो । पछिल्लो समय कोष राजनीति गर्ने थलोको रुपमा प्रयोग भए पनि अब त्यस्तो हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री तामाङले गैरराजनीतिक ठाउँमा आएर राजनीति गर्नाले नेपालको विकास हुन नसकेको दाबी गर्नुभयो । उहाँले पशुपतिक्षेत्र विकास कोष गैरराजनीतिक आध्यात्मिक पवित्र थलो भएकाले आफूले धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले पशुपतिक्षेत्र विकास कोषमा राजनीतिक गर्न नहुने विषयमा आफू सचेत रहेको बताउनुभयो । पशुपति क्षेत्र, विश्व सम्पदा सूचीमा सूचीकृत,पूर्वीय दर्शन र पूर्वीय संस्कृतिको महत्त्वपूर्ण केन्द्र विश्वमा नेपाललाई चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ छ । मन्त्री तामाङले पशुपति क्षेत्रलाई व्यवस्थित प्रवर्द्धन गर्नसके धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्ने बताउनुभयो ।

‘‘नेपालको विकास समृद्धि राजनीतिक नेतृत्व गैर राजनीतिक ठाउँमा आएर राजनीतिक गर्नाले हुन सकेन । पशुपति क्षेत्र गैरराजनीतिक आध्यात्मिक पवित्र थलो हो । धार्मिक स्थल हो । धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्ने हो । तर पशुपति क्षेत्र विकास कोषमा राजनीतिक बढी गर्नथाल्यौँ भने हाम्रो देश नबिग्रे अरु कुन देश र मानिसहरु बिग्रछन् ।,’’ मन्त्री तामाङले भन्नुभयो, ‘‘त्यसबाट बच्नुपर्छ भन्ने कुरामा आफू सचेत छु । पशुपतिक्षेत्र, विश्व सम्पदा सूचीमा सूचीकृत, पूर्वीय दर्शन र पूर्वीय संस्कृतिको महत्त्वपूर्ण केन्द्र विश्वमा नेपाललाई चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’’

उहाँले करोडौं जनसङ्ख्या भएको हिन्दुधर्मप्रति आस्था राख्ने भारतका हिन्दु धर्मालम्बीहरुलाई सहज रुपमा भित्र्याउन पशुपति क्षेत्रमा धार्मिक पर्यटकका लागि रमणीय भौतिक र आध्यात्मिक परिवेश बनाउन आवश्यक रहेको बताउनुभयो । रमणीय र आध्यात्मिक परिवेश बनाउनसके मुलुकको विकासका लागि आर्थिक उन्नति र प्रगतिमा पशुपतिक्षेत्रले अभूतपूर्व योगदान पु र्‍य ाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पशुपतिक्षेत्रलाई व्यवस्थित प्रवर्द्धन गर्नसक्यौं भने धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्छ । यसमा पनि करोडौं जनसङ्ख्या भएको हिन्दुधर्मप्रति आस्था राख्ने भारतका भक्तजनहरुलाई सहज रुपमा भित्र्याउने र धार्मिक पर्यटकलाई रमणीय खालको भौतिक र आध्यात्मिक परिवेश बनाउन सक्यौं भने मुलुकको विकासको लागि आर्थिक उन्नति र प्रगतिमा पशुपतिक्षेत्रले अभूतपूर्व योगदान पुर्‍याउन सक्ने केन्द्रको रुपमा बदल्न सक्छौं ।’’