• ७ जेठ २०८१, सोमबार

लामो समयपछि वर्षा भएपछि किसानलाई राहत

blog

पानी परेपछि नेपालगन्जको अवस्था । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख २६ गते । अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भइरहेको बेला बुधबार बाँके बर्दिया लगायतका जिल्लामा पानी परेसँगै सर्वसाधारणलाई ठुलो राहत भएको छ ।

लामो समयदेखि पानी नपरेर सुखा खडेरी परेर मकै लगायतका हिउँदे बाली सुक्न लागेको र अत्यधिक गर्मीले स्थानीय बासिन्दा आजित भएको बेला पानी परेपछि सबैलाई राहत महसुस भएको हो । 

लामो समयपछि बुधबार बाँके र सो वरिपरिका जिल्लामा पानी परेपछि सर्वसाधारण र किसानमा खुसीयाली छाएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । 

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमद खाँका अनुसार नेपालगन्ज र यस आसपासका क्षेत्रमा करिब ७/८ महिनापछि वर्षा हुँदा गर्मीबाट आजित बनेका स्थानीयले शीतलता महसुस गरेका हुन् । ग्रामीण भेगका किसान बालीनाली सप्रिने भन्दै हर्षित भएका छन् ।

पछिल्लो दुई साता यता नेपालगन्जको तापक्रम बढेर अधिकतम ४३ डिग्री सेल्सियससम्म पुगेको थियो । दिउँसोको लू चल्न थालेकोले बिरामीको सङ्ख्यासमेत बढ्दै गएको थियो।

बुधबार बिहानैबाट केही बेरसम्म वर्षा भएपछि मौसम शीतल हुनुका साथै स्थानीयले राहत महसुस गरेको नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

लामो समयपछि भएको यो वर्षाले जिल्लाका किसानलाई खेतबारी खनजोत गर्ने र बर्खे बाली लगाउन सहज हुने कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । सो कार्यालयका अनुसार यसबाट हिउँदे बालीलाई ठुलो लाभ मिल्ने आशा गरिएको छ ।