• ६ जेठ २०८१, आइतबार

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

blog

विराटनगर, वैशाख २६ गते । कोशी प्रदेश सभाका दुई ठुला दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख परशुराम खापुङलाई नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

आज प्रदेश प्रमुखलाई भेटेर एमाले कोशी प्रदेश सभा संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसहितका प्रदेश सभा सदस्यहरूले त्यस्तो माग गर्नुभएको हो । उहाँहरूले यही वैशाख ६ गतेको प्रदेश सभा बैठकले पारित गरेको सङ्कल्प प्रस्ताव स्मरण गराउँदै तत्काल सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो । 

नेपालको संविधानको धारा १८३(३) बमोजिम कोशी प्रदेश सभाको अधिवेशन आह्वान गरी मुख्यमन्त्री केदार कार्कीलाई वि.सं.२०८० चैत २६ गतेको मितिले संविधानको धारा १८८(२) बमोजिमको अवधिभित्र अर्थात् ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिन सङ्कल्प प्रस्ताव पारित गरिएको र सोबारे मुख्यमन्त्री कार्कीले जानकारी पाइसकेको उहाँहरूको भनाइ छ । 

आफू अल्पमतमा परेको भएपनि संविधानको धारा १८८(२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि समयावधिभित्र प्रदेश सभाको अधिवेशन आह्वान नगरेको तथा राजीनामा पनि नदिएकाले कार्कीले मुख्यमन्त्री पदको संवैधानिक हैसियत गुमाएको उहाँहरूको दाबी छ । रासस