• ६ जेठ २०८१, आइतबार

इङ्ग्ल्यान्ड ‘सी’ सँग नेपाल पराजित

blog

करुण अर्याल

लन्डन, वैशाख २६ गते । नेपाल र इङ्ग्ल्यान्ड ‘सी’ बिच भएको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको छ । अल्डरसटस्थित इबिबी रङ्गशालामा सोमबार भएको खेलको सुरुवाती समयमा सम्हालिन नसक्दा नेपालले हार बेहोर्न परेको हो । इङ्ग्ल्यान्डको अल्डरसट टाउन फुटबल क्लब एफए र नेपाली समुदायको सहयोगमा सो खेल भएको थियो ।

निक कबाम्बाले खेलको सातौँ मिनेटमा उत्कृष्ट हेडमार्फत गोल गर्दै इङ्ग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाउनुभयो । इङ्ग्ल्यान्डको बार्नेट क्लबबाट खेल्ने कबाम्बालाई ओली हरफिल्डले मैदानको बायाँ भागबाट बल दिएका थिए । खेलको १३ औँ मिनेटमा क्यालम स्टिडले भली प्रहारमार्फत गोल गर्दै इङ्ग्ल्यान्डको गोलअन्तर दोब्बर बनाएका थिए । जसले नेपाली समर्थकलाई निराश बनायो । 

वर्षाका बिच भएको पूर्वार्धको खेलमा इङ्ग्ल्यान्डका खेलाडीले प्रभावशाली प्रदर्शन गरे पनि उत्तरार्धमा नेपाली खेलाडीले केही उत्कृष्ट अवसर निकाल्दै नेपाली समर्थकको मन जितेका थिए । दोस्रो हाफमा मैदान छिर्नुभएका जिलेस्पीजङ्ग कार्की दुई पटक गोलको निकै नजिक पुग्नुभएको थियो । खेलको ७१ औँ मिनेटमा जिलेस्पीले हेड गरेको बल गोलपोस्टमा लागेर फर्किंदा नेपाललाई भाग्यको साथ मिलेको थिएन । छ मिनेटपछि नै डिबक्समा बिनानिगरानीमा रहेको जिलेस्पीले बल गोलपोस्टमाथि प्रहार गर्दा पनि नेपालले गोल फर्काउन सकेन । यसै गरी फरवार्ड सञ्जीव विष्टले पनि गोल गर्ने राम्रो अवसर गुमाउनुभएको थियो ।

पाँच हजार पाँच सयभन्दा बढी नेपाली दर्शक उपस्थित खेलमा नेपालका कप्तान तथा गोलरक्षक किरण लिम्बूको प्रदर्शनी उत्कृष्ट रहेको थियो । लिम्बू म्यान अफ दी म्याच घोषित हुनुभयो । खेलपछि आयोजित समारोहमा अल्डरसट टाउन फुटबल क्लब अध्यक्ष साहिद अजिम, इङ्ग्ल्यान्ड एफए पदाधिकारी, नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समाजसेवी व्यवसायी रवीन्द्रजङ्ग लामिछानेलगायतले खेलाडीलाई क्याप वितरण गर्नुभएको थियो । शुक्रबार नेपाली राष्ट्रिय फुटबल टोली र ब्रिटिस आर्मीबिच भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

नेपालले सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारी अनुरूप बेलायतमा मैत्री फुटबल खेलेको हो । विश्वकप छनोट अन्तर्गत नेपालले जेठ २४ गते दशरथ रङ्गशालामा संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्दै छ । नेपाल विश्वकप छनोटबाट यसअघि नै बाहिरिइसकेको छ ।