• ६ जेठ २०८१, आइतबार

परम्परागत थारु हस्तकला तालिम सुरु

blog

थारु समुदायका महिला परम्परागत थारु हस्तकला सिक्दै । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, वैशाख २५ गते । 
थारु समुदायका महिलाहरूलाई परम्परागत थारु हस्तकला सीप सिकाउन थालिएको छ । थारु समुदायमा बनाइने हस्तकलाका सामग्री पछिल्लो पुस्ताहरूमा हस्तान्तरण नहुँदा हस्तकलाका सिपहरू समुदाय बाटै हराउँदै जान थालेपछि संरक्षणका लागि सिकाउन थालिएको हो ।

थारु सभा रामधुनी नगर समितिले रामधुनी नगरपालिकाको आर्थिक सहयोगमा परम्परागत थारु हस्तकलाका सीपहरू महिलाहरूलाई सिकाउन थालिएको छ । महिलाहरूलाई उद्यमशीलता तर्फ प्रवर्द्धन गर्ने उद्देश्यले तालिम सुरु गरेको थारु सभा रामधुनी नगर समितिले जनाएको छ ।

तालिममा थारु हस्तकला धमा, मना, ढकिया, धमनी बनाउन सिकाइने छ ।  गृहिणी महिलाहरूलाई सीप विकासबाट स्वरोजगार, बनाउन आयआर्जन, तथा सामाजिक रूपान्तरण र जीविकोपार्जन गर्नका लागि १५ दिने तालिम सुरु गरिएको थारु महिला सभा रामधुनी नगर अध्यक्ष लिली चौधरीले जानकारी दिनुभयो । 

तालिममा सहभागीहरूले धमा, मना, ढकिया, धमनी घरको पूजा कोठामा राख्ने सामग्री र खाद्य बस्तु राख्ने भाँडाकुँडा जस्तो आकार भएको सामग्री बनाउन सिक्ने छन् । वन जङ्गल, नदी नालामा पाइने घाँस, सिक्री, गबहा र उनबाट उनेर बनाउन सिकाइने छ । थारु समुदायमा धमा, मना, ढकिया, धमनी धार्मिक कार्यमा प्रयोग गरिँदै आएको छ ।

हस्तकला र स्थानीय श्रोत साधनबाट बनाइने सामग्री पर्यावरणीय मैत्री मानिन्छ ।

प्रशिक्षक ७० वर्षीया चनावती थरुनीले भन्नुभयो, “पौराणिक हस्तकलालाई रामधुनी नगरले मायाको चिनो, धार्मिक कार्यमा प्रयोग, सजावटका लागि कोठामा राख्ने सकिने छन् । बनाइएका सामग्रीमा फलफूल तथा खानेकुरा राखेर खानाले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने छ ।’’

थारु समुदायले धर्म, कर्मको रूपमा परापूर्व कालदेखि प्रयोग गर्दै आएको हस्तकलालाई बजारीकरण गरी पुस्ता हस्तान्तरण गर्नु पर्नेमा प्रशिक्षक चनावती थरुनीले सरोकारवालाहरूलाई सुझाउनुभएको छ ।

हस्तकलाको सीपबाट आर्थिक र उद्यमी बन्न सक्ने उद्देश्यले कार्यक्रम तथा बजेट विनियोजन गरेको नगर प्रमुख शंकरलाल चौधरीले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा थारु पौराणिक हस्तकलालाई उठान गर्न आवश्यक रहेको नगर उपप्रमुख तारा थापाले बताउनुभयो । थारु महिलाहरूलाई सीप विकास कार्यक्रमअन्तर्गत आफ्नो संस्कार, संस्कृति, परम्पराको सीप सिकेर उद्यमी बन्नका लागि तालिम आवश्यक रहेको उहाँको भनाइ छ ।

रामधुनी वडा नम्बर ९ का वडाध्यक्ष घनश्याम चौधरी लगायतका थारु अगुवाहरूको कार्यक्रममा उपस्थिति रहेको थियो । १५ दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण ७० वर्षीया चनावती थरुनी र ४५ वर्षीया सङ्गीता चौधरीले गर्नुभएको छ । तालिममा ३० जना महिलाहरूको सहभागिता रहेको छ ।