• ६ जेठ २०८१, आइतबार

दुर्गमको विद्यालयमा बस सेवा

blog

विद्यालयले सञ्चालन गरेको बसले विद्यार्थीहरु ओसार्दै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, वैशाख २५ गते । दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका–२ को महादेव माध्यामिक विद्यालयले टाढाका विद्यार्थी ओसार्नका लागि बस सेवा सञ्चालनमा ल्याएको छ । भारतीय दूतावासद्वारा गाउँपालिकालाई सहयोग स्वरुप उपलब्ध भएको उक्त बस गाउँपालिकाले विद्यालयलाई प्रदान गरेपछि विद्यालयले त्यसलाई सञ्चालनमा ल्याएको हो । 

बस सेवा सञ्चालनमा आएपछि विद्यार्थीहरुले पहिलो पटक घरबाट विद्यालय जान बस चढ्न पाएको विद्यालयका खेला प्रमुख गीर्वाणविक्रम शाहीले बताउनुभयो । विद्यालयबाट बस वडा नम्बर १ का तीन वटा बस्तीहरु रिमी, बोहराबाडा र भण्डारीबाडा गएर विद्यार्थी ओसार्ने कार्य सुरु भएको उहाँले बताउनुभयो । साना ठुला गरी ती तीन वटा गाउँबाट ८४ जना विद्यार्थीलाई बसले ओसार्ने गरेको छ । 

सडक सञ्जाल जोडिएका ती गाउँबाट १५ मिनेटमा बसले विद्यालय पुर्‍याउँछ । जब कि पैदल हिँड्नु परे विद्यार्थीहरुले एकदेखि दुई घण्टा हिँड्नुपर्थ्याे । उहाँले बस सेवा सञ्चालन भएसँगै अब विद्यार्थीहरुले पैदल हिँड्नुपर्ने बाध्यता हटेको बताउनुभयो । 

गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले पहिलो दिन वडा नम्बर १ का विद्यार्थीलाई बसले ओसार्न सुरु गरेको बताउनुभयाे । जिल्लामै पहिलो पटक बस चढेर विद्यालय आउन पाउने विद्यार्थी उक्त विद्यालयका भएका छन् । उहाँले अब बस चढे वापत विद्यार्थीहरुका अभिभावकले मासिक २५० रुपियाँ भाडा तिर्नुपर्नेछ । यो भाडा पनि अभिभावकलाई केही जिम्मेवार बनाउनका लागि लिने गरिएको उहाँले बताउनुभयो । 

बसको चालक र सहचालकको पारिश्रमिक गाउँपालिकाले ब्यहोर्नेछ । अन्य इन्धन, मर्मत खर्च भने वडा कार्यालय र विद्यार्थीहरुबाट उठाएको भाडाबाट ब्यहोरिनेछ । विद्यालयले विद्यार्धी ओसार्ने कार्य बिस्तारै अन्य वडाबाट पनि सुरु गर्ने उहाँले बताउनुभयो । उहाँले अहिले सुरुवात गरिएको अब बिस्तारै गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था गरिने बताउनुभयो । गत वैशाख २ गते भारतीय दूतावासले बस चङ्खेली गाउँपालिकालाई सहयोग गरेको थियो । काठमाडौंबाट गाउँपालिका पुगेको उक्त बस वैशाख १६ गते गाउँपालिकाले विद्यालयलाई हस्तान्तरण गरेको थियो ।