• ६ जेठ २०८१, आइतबार

पोखरामा पर्यटकलाई दुःख दिने पाँच जना पक्राउ

blog

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख २५ गते । पर्यटकीय सहर पोखराको विभिन्न स्थानमा पर्यटकलाई दुःख दिने, हैरान पार्ने पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले आइतबार बेलुका पोखराका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा ६ डिहिकोपाटन बस्ने २६ वर्षीय सन्तोष श्रेष्ठ, पोखरा ६ लालुपाते मार्ग बस्ने २५ वर्षीय मीनप्रसाद पौडेल, सोही ठाउँका ३१ वर्षीय धनदेउ क्षेत्री, पोखरा ६ खहरेचोकका २५ वर्षीय सुशान्त क्षेत्री र पोखरा ६ हल्लनचोक बस्ने २५ वर्षीय अमित भण्डारी छन् । 

जिरो किलोमिटर, लेक साइड, हल्लनचोक क्षेत्रमा सर्वसाधारण र विदेशी पर्यटकलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटेल मिलाइदिन्छु भनी झोला तान्ने तथा पैसाको बार्गेनिङ गर्ने गरिरहँदा उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । पक्राउ परेका पाँचै जनालाई सार्वजनिक हित, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा १० दिन म्याद थप गरी अनुसन्धान रहेको प्रवक्ता शर्माले बताउनुभयो ।