• ६ जेठ २०८१, आइतबार

‘विपद् व्यवस्थापनमा स्थानीय तहबिच सहकार्य जरुरी छ’

blog

पाटन (ललितपुर), वैशाख २४ गते । ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय तहका प्रमुखहरूले विपद् व्यवस्थापन र प्रतिकार्य योजनामा सहकार्यका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।  

ललितपुर महानगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, डडेलधुराको अमरगढी नगरपालिका र बझाङको जयपृथ्वी नगरपालिका प्रमुखहरूले त्यस्तो बताएका हुन् । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा सुपर परियोजनाको समन्वयमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी, भूमिका र पहलकदमी सम्बन्धी कार्यक्रममा उहाँहरूले त्यस्तो बताउनुभएको हो ।

कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन महानगरले हरसम्भव प्रयास गरिरहेको बताउनुभएको छ । उहाँले विपद्को समयमा खोज, राहत तथा उद्धार कार्यमा सूचना पाएको चार मिनेटमा आकस्मिक विपद् प्रतिकार्य गर्ने नीतिका साथ महानगरले काम गरिरहेको बताउनुभयो । महर्जनले सङ्घीय सरकार र प्रदेश सरकारले विपद् प्रतिकार्य अभ्यासमा पर्याप्त ध्यान दिननसकेको अवस्थामा महानगरले आफ्नो जिल्ला र उपत्यकाका छिमेकी स्थानीय तहहरूसँग सहकार्य गरेर यस कार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो ।  

“विपद् व्यवस्थापनका काममा कहिल्यै सन्तुष्ट हुन सकिँदैन तथापि महानगरले विपद्का समयमा जनशक्तिका साथै नयाँ प्रविधिको प्रयोग पनि आवश्यक हुँदो रहेछ भन्ने ध्येयले आवश्यक काम गरिरहेको छ । अहिले हामीले एउटै छानामुनि विपद् व्यवस्थापनका लागि आवश्यक सबै व्यवस्था गरेका छौँ र विपद् व्यवस्थापनमा दमकलसँगै एम्बुलेन्स खटाउने नीति पनि लागू गरिसकेका छौँ”,महर्जनले भन्नुभयो । 

विपदमा परेकाहरूको सहयोग गर्ने मात्र नभई त्यस्ता कार्यमा खटिने कर्मचारीलाई पनि सुरक्षित राख्नुपर्ने आवश्यकता औँल्याउँदै महानगरले भूकम्पको जोखिमबाट बच्ने र उद्धार गर्ने विषयमा कर्मचारीलाई तालिम दिइसकेको र यस्ता कार्यमासुरक्षा निकायलगायत सङ्घसंस्थाबाट सहयोग प्राप्त भइरहेको जानकारी गराउनुभयो । कार्यक्रममा कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विपद् व्यवस्थापनका विषयमा ललितपुर महानगरबाट धेरै कुरा सिकेर आफ्नो पालिकामा पनि लागू गर्न सफल भएको बताउनुभयो । 

नगरप्रमुख हमालले ललितपुर महानगरबाट फोहर व्यवस्थापनदेखि विपद् व्यवस्थापनका क्षेत्रमा आफूले धेरै सिक्ने अवसर पाएको बताउनुभयो । “अरू पालिकामा जाँदा भव्य स्वागत त गर्नुहुन्छ तर आफ्ना असल अभ्यासबारे हामीलाई सिकाउँदैनन् । त्यसैले अरूले लुकाउँछन् तर ललितपुरले हामीलाई धेरै सिकाएको छ । त्यसमा पनि महानगर प्रमुखले हामीले यस्तो काम गरिरहेका छौँ तपाईँहरूले पनि लागू गर्दा राम्रै होला भनेर सुझाव दिनुहुन्छ । यसले हामीलाई सहज भएको छ”, हमालले भन्नुभयो ।

फोहरमैला र विपद् व्यवस्थापनका लागि आफ्नो नगरपालिकाले विद्यालय तह र समुदायस्तरमा सचेतनाका काम अगाडि बढाउँदा काम गर्न सहज भएको बताउनुभयो । उहाँले धनगढीमा प्लास्टिक बन्देज गरेको डेढ वर्ष भइसकेको र सुर्तीजन्य पदार्थको नियमन पनि भइरहेको जानकारी गराउनुभयो । 

यस्तै, डडेलधुराको अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले स्थानीय तह अधिकारका हिसाबले सम्पन्न भए पनि आर्थिक स्रोतको अभावमा धेरै काम गर्न नसकिएको बताउनुभयो । उहाँले भूकम्पलगायत विपद् जोखिम न्यूनीकरणका लागि नगरले सचेतना अभिवृद्धिका काममा जोड दिइरहेको बताउनुभयो । “सुदूरपश्चिम भौगोलिक दृष्टिले भूकम्पको जोखिममा छ । पहाडी जिल्लामा मानवीय त्रुटिका कारण पनि बढी जोखिम छ । अहिले हामीले जोखिम  न्यूनीकरणका लागि जनचेतना जगाउने कार्य गरिरहेका छौँ अब यहाँबाट सिकेका कुरालाई लागू गर्ने प्रयासमा लाग्ने छौँ”, जोशीले भन्नुभयो ।

बझाङको जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बरालले जिल्ला नै भूकम्प र बाढीको उच्च जोखिममा रहेकाले जतिबेला पनि जोखिममा पर्ने अवस्था रहेकाले सोहीअनुसार नगरले योजना बनाइरहेको बताउनुभयो । “विपद्का लागि भर्खरै ऐन पारित गरेका छौँ, त्यसको कार्यान्वयनका लागि धेरै काम गर्न बाँकी छ । राष्ट्रिय मापदण्डलाई आधार मानेर भवन निर्माणसंहिता लागू गर्ने तयारीमा छौँ” बरालले योजना सुनाउनुभयो ।

ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विपद् व्यवस्थापनमा ललितपुर महानगरले अन्तर्राष्ट्रिय अभ्यासहरूलाई प्रयोग गर्ने प्रयास गरिरहेको बताउनुभयो । “मन्त्रालयको प्रतिनिधिसहित तीन वटा पालिकाको भ्रमणले सिकाइ र असल अभ्यासको साटासाट गर्ने अवसर मिलेको छ । भूकम्पीय जोखिम रहेको जापानको अभ्यासबाट नागरिकलाई सचेत गराउनुपर्छ भन्ने अनुभूत गर्दै यहाँ पनि विपद् प्रतिकार्यको अभ्यासबारे सिकाउने प्रयास गरिएको छ”, शाक्यको भनाइ थियो । 

उहाँले प्राकृतिक विपत्ति र मानवनिर्मित विपत्तिबाट बच्न कोष खडा गर्ने र विपद्जन्य समस्या समाधानलाई प्राथमिकतामा राखेर काम भइरहेको उल्लेख गर्नुभयो । सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशील वैद्यले समुदाय र विद्यालयस्तरमा सचेतना अभियानलाई केन्द्रमा राखेर मन्त्रालयले आवश्यक कार्य गरिरहेको बताउनुभयो । पछिल्लो समय प्रदेशस्तरमा विपद् व्यवस्थापन प्राधिकरण चाहिन्छ कि भन्ने बहस पनि चलिरहेको उहाँले जानकारी दिनुभयो । 

त्यस अवसरमा भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले महानगरपालिकाको प्रयास र अभ्यास राम्रो रहेको भन्दै विपद्का समयमा तालिम प्राप्त जनशक्तिका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विपद् प्रतिकार्यका लागि विकेन्द्रीकृत सेवा प्रवाहको कार्यनीति आवश्यक रहेकामा समेत जोड दिनुभयो । कार्यक्रममा धनगढी उपमहानगरपालिका, अमरगढी नगरपालिका डडेलधुरा र जयपृथ्वी नगरपालिका बझाङका नगरप्रमुख र विपद् सम्पर्क व्यक्ति, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सचिव र सम्बन्धित मन्त्रालयका विपद् सम्पर्क व्यक्तिको उपस्थिति रहेको थियो ।  रासस