• ६ जेठ २०८१, आइतबार

इजाजतपत्र दिन सकिन्न, वैकल्पिक व्यवसाय रोज्नु

blog

माछा मारेर जीविकोपार्जन गर्ने माझी, मुसहर बोटे समुदाय ।

बोमलाल गिरी 

नवलपुर, वैशाख २४ गते । चितवन राष्ट्रिय निकुञ्ज कसराले नवलपुरमा बसेर नारायणी र राप्ती नदीमा माछा मारेर जीविकोपार्जन गर्ने माझी, मुसहर र बोटे समुदायलाई थप (इजाजतपत्र) लाइसेन्स नदिने भएको छ । 

त्यसको सट्टा वैकल्पिक व्यवसाय अवलम्बन गर्न निकुञ्जले यी समुदायलाई आग्रह गरेको छ । आफूहरूलाई माछा मार्न नयाँ लाइसेन्स थप गर्नु पर्ने र पुरानालाई नवीकरण गर्नुपर्ने लगायत १० बुँदे माग राखेर ज्ञापनपत्र बुझाउन कसरा पुगेको माझी, मुसहर, बोटे कल्याण सेवा समिति नवलपुरको टोलीसँग निकुञ्जले यस्तो आग्रह गरेको हो ।

ज्ञापनपत्र बुझेपछि निकुञ्जका सहायक संरक्षण अधिकृत अविनाश थापाले भाविपुस्तालाई वैकल्पिक व्यवसायमा संलग्न गराए मात्र नदीमा आश्रित हुन नपर्ने भएकाले त्यतातिर सोच्न आग्रह गर्नुभयो । 

‘माछा मार्ने तपाईँहरूको पुर्ख्यौली पेसा हो । त्यसो भन्दैमा भाविपुस्तालाई खोलामा मात्र आश्रित गर्नु हुँदैन, सहायक संरक्षण अधिकृत थापाले भन्नुभयो, ‘नदीहरूमा बढिरहेको चाप, जङ्गली जनावरसँगको द्वन्द्व लगायत कारणले पनि तपाईँहरूले वैकल्पिक व्यवसाय रोज्नु उपयुक्त हुन्छ, त्यसका लागि निकुञ्जले के गर्नुपर्छ हामी तयार छौँ ।’

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले पनि परम्परादेखि माछा मारिरहेकाको लाइसेन्स नवीकरण गरिरहेको भए पनि नयाँ थप्न नसकिने स्पष्ट पार्नुभयो । अहिले यी समुदायका झण्डै तीनसयले लाइसेन्स पाइरहेकाले नयाँ थप्नु निकै चुनौतीपूर्ण र संवेदनशील विषय भएको उहाँको भनाइ छ ।

‘पृथ्वीमा डाइनोसरपछि अति सङ्कटापन्न अवस्थामा अस्तित्वमा रहेको घडियाल गोही चितवनको राप्ती र नारायणी नदीमा मात्र पाइन्छ, प्रकृतिमा यसको बाँच्ने दर एक प्रतिशतभन्दा पनि कम छ, जसले ताजा माछा बाहेक अरू खाँदैन, तिवारीले भन्नुभयो, ‘हामीले घडियाल गोहीको पनि संरक्षण गर्नुपर्ने छ अनि संरक्षणमा असर नपर्ने गरी हाम्रो जीविकोपार्जनलाई व्यवस्थित गर्नुपर्ने काम छ, जुन चुनौतीपूर्ण छ ।’

यस्तो अवस्थामा लाइसेन्स थप गर्दा १० हजारभन्दा बढी हुने भएकाले प्रकृतिको संरक्षणमै अवरोध उत्पन्न हुन सक्ने उहाँको भनाइ छ । ‘बाबु बाजेदेखि खोलामा आश्रित भए भन्दैमा हामी अहिले पनि जीविकोपार्जनका लागि माछा नै मार्नुपर्छ भन्ने छैन, तिवारीले भन्नुभयो, “अव थोरै वैकल्पिक आय–आर्जनतिर पनि जोडिनुपर्छ । यसले प्रकृतिलाई पनि फाइदा गर्छ, तपाईँहरूलाई पनि ।’

उहाँले माझी, मुसहर, बोटेलगायतका अल्पसङ्ख्या समुदायको हितका लागि निकुञ्ज तयार रहेको बताउनुभयो । ‘वैकल्पिक व्यवसायका लागि सुरुमा तालिम चाहिन्छ । त्यसका लागि हामी तयार छौंं, तर हाम्रो प्रयासले मात्र सम्भव हुँदैन, तीन तहकै सरकार पनि जिम्मेवार बन्नुपर्छ’ उहाँले भन्नुभयो ।  

माझी, मुसहर, बोटे कल्याण सेवा समितिका अध्यक्ष सुकराम माझीले निकुञ्जले लाइसेन्स पनि नवीकरण नगर्ने, वैकल्पिक पेसातिर पनि लैजान नसक्ने, नदीमा माछा मार्न गएकालाई पक्राउ गर्ने र मानसिक तनाव दिने काम भएको भन्दै त्यसलाई अन्त्य गर्न आग्रह गर्नुभयो । 

सेवा समितिका सचिव ज्ञानबहादुर बोटेले निकुञ्ज वरपर खुल्ने ठुला उद्योगमा यी समुदायलाई रोजगारीका लागि पहल गर्नुपर्ने, नेचर गाइड, पर्यटक गाइडको तालिम, ढुङ्गा चलाउने तालिमको व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।