विश्व पत्रकारिताको इतिहासमा झन्डै तीन सय वर्ष कान्छो भएर पनि गोरखापत्रलाई दक्षिण एसियाकै गौरव प्राप्त छ । फलतः देशमा नेपाली भाषामा प्रकाशित पहिलो पत्रिकाका रूपमा गोरखा भारत जीवन मासिकलाई लिन सकिन्छ । यो पत्रिका विसं १९४३ मा मोतिराम भट्टले काशीमा छपाएका थिए । त्यसपछि देशमै छापिएको विसं १९५५ को साउन महिनामा प्रकाशित सुधा सागर मासिक पत्रिका पनि थियो । उक्त पत्रिका निस्केको झन्डै दुई वर्ष १० महिनापछि विसं १९५८ वैशाख २४ गते सोमबारका दिन गोरखापत्रको जन्म भयो । यसै क्रममा विसं १९८४ वैशाख १३ मा गोरखापत्रमा पहिलोपल्ट तस्बिर छापिएको थियो । यो पत्रिका सुरुमा साप्ताहिक, विसं २००० साल असोज २९ देखि हप्तामा दुई पटक र विसं २००३ पुस ८ गतेदेखि हप्तामा तीन पटक प्रकाशन हुन थाल्यो ।
गोरखापत्र विसं २०१७ साल फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशन हुन थालेको थियो । त्यस्तै गरी विसं २०१९ कात्तिक २ देखि २०२२ असोज २२ सम्म साय संस्करणसहित दुई पटक प्रकाशित भयो । यसको साथसाथै विसं २०१९ कात्तिक २ गते शनिबारशरीय परिशिष्टाङ्क प्रकाशनको प्रारम्भ भयो । विसं २०५९ असार १ देखि गोरखापत्र रङ्गीन छापिन थाल्यो । विसं २०६४ असोज १ देखि बहुभाषिक रूपमा प्रकाशित हुन थालेको थियो । यद्यपि समाचारपत्रका रूपमा सरकारको विशेष पहलमा प्रकाशित गोरखापत्रलाई देशको जेठो समाचारपत्रको उच्च मान्यता प्राप्त छ । त्यो मान्यतालाई शिरोधार्य गर्दै व्यावसायिक पत्रकारितालाई निरन्तरता दिइरहेको छ । त्यसैले त यसलाई राष्ट्रको गौरव मानिन्छ । समकालीन युगको जीवन्त इतिहास बोकेर गोरखापत्रले आफ्नो जीवनयात्रालाई अविराम अगाडि बढाइरहेको छ । यसले नेपाली पत्रकारिताको जीवन्त इतिहास बोकेको छ । पछिल्लो समय यसका सामग्रीले धेरैको मन जितेको छ ।
मूलतः तत्कालीन उदारवादी राणा प्रधानमन्त्री कालको उत्तरार्धमा जनताले सुसूचित हुन पाउनु पर्छ भन्ने अभिप्रेरणाबाट उत्प्रेरित भई गोरखापत्रको प्रकाशन आरम्भ गरेका थियो । राष्ट्रको सबैभन्दा कम समय शासनको बागडोर सम्हाल्ने सौभाग्य प्राप्त गरे पनि देवशमशेरले यही छोटो समयमा धेरै सुधारका कार्य गरे । यसले सर्वसाधारण जनतामा सूचना वा खबर पुगोस् यसको ज्ञानबोध होस्, जनताले प्रजातन्त्र र आधुनिकीकरणको ज्ञान पाउन् भन्ने उद्देश्यले अँध्यारोमा रहेका नेपाली जनतालाई देश विदेशका कुराको जानकारी गराउन गोरखापत्रको प्रकाशन गरेर अन्धकारमा मैनबत्ती देखाउने काम देवशमशेरबाट भयो । त्यसबेला रेडियो नेपाल र अन्य टेलिभिजन केही पनि थिएन । त्यस्तो कठिन परिस्थितिमा जनताको नैसर्गिक चेतनामा बन्देज लगाइएको त्यो समयमा पनि आमसञ्चारको माध्यम गोरखापत्र प्रकाशित गर्नु ठुलो क्रान्ति मान्नु पर्छ ।
तसर्थ दैनिक गोरखापत्र सबैभन्दा जेठो र निरन्तर प्रकाशन भएको एक मात्र पत्रिका पनि हो । यो एउटा ऐतिहासिक पत्रिका हो । यसको प्रारम्भकालदेखि नै साप्ताहिक रूपमा प्रकाशित हुँदै आयो । सुधारवादी राणा प्रधानमन्त्री देवशमसेरको आशीर्वाद र संरक्षण पाएर गोरखापत्रले नेपालको पत्रकारिताको एउटा लामो यात्रा पूरा गरिसकेको छ । यसका जन्मदाता देवशमशेर हुन् । उनलाई गोरखापत्रको पिता मान्नु पर्छ । उनकै प्रयत्नले गोरखापत्र निस्केको हो । यसकारण यसमा उनको देन अपार छ । यस कुरामा कसैको दुईमत छैन ।
समाचारपत्रको मानवसँग अति धनिष्ट सम्बन्ध छ । आफ्नो देश, छिमेकी देश र विश्वका बारेका एक अर्कोमा हाल खबरको आदान प्रदान गरिन्छ । मानवलाई सधैँ नयाँ नयाँ कुरा जान्ने, बुझ्ने, सुन्ने जिज्ञासा पहिलेदेखि नै रहिआएको हो । पत्रकारिता आमसञ्चारको शक्तिशाली माध्यम हो । जसरी मानवजातिका अङ्ग प्रत्यङ्ग रक्त सञ्चार प्रव्रिmयाद्वारा व्रिmयाशील बन्छन् त्यसरी नै समाजका प्रत्येक जोर्नी जोर्नी सूचना सम्प्रेषणको अविच्छिन्न प्रवाहद्वारा प्रवाहित छन् । त्यसैले त पत्रकारलाई समाजका सचेतक वा पहरेदार मानिन्छ ।
अतः गोरखापत्र प्रकाशन समयको सुरुवातदेखि नै पूर्ण सरकारी व्यवस्थापनद्वारा सञ्चालित एक मात्र अखबारी संस्थाका रूपमा विकास होस् भन्ने अभिप्रायले तत्कालीन सरकारले गोरखापत्र संस्थान ऐन, २०१९ जारी गरेर २०२० असार २० गतेदेखि यसलाई एक छुट्टै स्वशासित संस्थानम परिणत गरेको हो । यसको प्रकाशन सङ्ख्यामा दिनहुँ वृद्धि हुँदै गयो । यसरी नै विसं २०१९ देखि गोरखापत्रमै टेलिप्रिन्टरबाट एएफपीको समाचार प्राप्त हुन थाल्यो । यसरी यस संस्थालाई अझ बलियो बनाउने उद्देश्यले विसं २०१९ मा गोरखापत्र कर्पोरेसन ऐन जारी भयो ।
गोरखापत्र संस्थानले आफ्नो जन्मकालदेखि विभिन्न किसिमका समस्या भोग्दै आयो । यसले भाषा, संस्कृति, रहनसहन, राजनीति, साहित्य, पत्रकारिताको संरक्षण र प्रवर्धन गर्दै आएको छ । संस्थान स्थापना भएपश्चात् गोरखापत्रले ‘आफ्नो खुट्टा आफ्नै भर’ को मार्ग अपनाएको छ । यसको एक सय २४ वर्षको प्रवेश वार्षिकोत्सव आज मनाइँदै छ ।
गोरखापत्रले विगत करिब डेढ दशकदेखि नियमित रूपमा ४० भाषाका पाठ्यसामग्री समेटेर पत्रकारितामा नयाँ आयाम दिनुका साथै नेपाली समुदायमा रहेको भाषिक विविधतालाई संवर्धन गर्ने महìवपूर्ण काम गरिरहेको छ । यसरी नै देशमा रहेका एक सय २५ जातजाति र १२३ भाषाभाषी समुदायले बोल्ने सबै भाषालाई इन्द्रेणीमा प्रत्यक्ष÷परोक्ष रूपमा ढिलो चाँडो समेट्ने प्रयत्न गोरखापत्रले गर्ने नै छ । यो सरकारी मुखपत्रका रूपमा रहेको सबैभन्दा पुरानो र ऐतिहासिक पत्रिका हो । यसले पछिल्ला वर्षमा विभिन्न जातिभाषा समुदायमा बोलिने राष्ट्रिय भाषामा प्रकाशन सुरु गरेर राष्ट्रको एकमात्र बहुभाषी अखबारका रूपमा परिचय बनाएको छ । मुलुक सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा पदार्पण गरेसँगै गोरखापत्रले पनि सङ्घीयताको मर्म, स्थानीय सरकारको औचित्य र महत्वलाई आत्मसात् गर्दै सातै प्रदेशका पाठ्य सामग्रीलाई विशेष महत्वका साथ प्रकाशन गरेको छ ।
पत्रकारितालाई राष्ट्रको चौथौ अङ्ग मानिन्छ । राष्ट्रलाई नयाँ दिशा देखाउने काम यही चौथो अङ्गले गरेको छ । निष्पक्ष र स्वस्थ पत्रकारिता नै कुनै देशको विकास निर्माणको प्रमुख आधाराशिला मान्न सकिन्छ । अपितु गोरखापत्र संस्थान, साझा प्रकाशन, जनक शिक्षा सामग्री केन्द्र जस्ता संस्थाको रक्षाका
लागि राज्यले दायित्व वहन गर्नु पर्छ । सङ्घीय सरकारले परिवर्तित परिस्थितिमा आमसञ्चार नीति अन्तर्गत इतिहासको रक्षा
गर्नु पर्छ । इतिहास भत्काउनु र मास्नु बहादुरी होइन, इतिहासको रक्षा गर्नु र नयाँ इतिहास निर्माण गर्नु बुद्धिमानी हो । गोरखापत्र संस्थानको जीर्ण शरीरलाई पुनर्जीवन दिन नीतिगत सुधार आवश्यक छ । जुन मुलुकले जे–जति कठिन परिस्थिति, मोड र घुम्ती पार गरेको छ, गोरखापत्र ती सबै अप्ठ्यारा झेल्दै आएको मात्र छैन, आफूलाई समयानुकूल खार्दै र निखार्दै अनि झन् जवान बनाउँदै अघि बढिरहेको छ । यसको अविराम यात्रा चलिरहोस् । शुभकामना ।