• ६ जेठ २०८१, आइतबार

बस्ताकोटीलाई व्यङ्ग्यचित्र पुरस्कार

blog

काठमाडौँ, वैशाख २४ गते । हिमालयन टाइम्सका कार्टुनिस्ट महेश बस्ताकोटीलाई शारदा–गोविन्दमान व्यङ्ग्यचित्र प्रतिभा पुरस्कार–२०८१ प्रदान गरिएको छ । १० हजार रुपियाँ राशिको सो पुरस्कार विश्व कार्टुनिस्ट दिवस–२०८१ को अवसरमा आयोजित कार्यक्रममा आइतबार प्रदान गरिएको हो ।

कार्टुनिस्ट क्लब नेपालद्वारा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा आयोजित कार्यक्रममा पुराना कार्टुनिस्ट तथा पूर्वमन्त्री रमेशनाथ पाण्डेले सो पुरस्कार प्रदान गर्नुभएको हो । उहाँले पत्रकारितामा कार्टुनको विशेष स्थान हुने भएकाले कार्टुनिस्टको पनि विशेष दायित्व र महत्व हुने बताउनुभयो ।

उहाँले नेपाली कार्टुन विदेशीले नबुझ्ने गरेको आफ्नो अनुभव सुनाउँदै कार्टुन विधाले जतिसुकै कठिन विषयलाई सरल र सबैले बुझ्ने शैलीमा प्रस्तुत गर्नुपर्ने कठिन कार्य भएको बताउनुभयो । अग्रज कार्टुनिस्ट रामकुमार पाण्डेले कार्टुनको अनुसन्धान हुनुपर्ने, बुलेटिन प्रकाशित गरी पुराना कृति सङ्ग्रह गर्नुपर्ने तथा अग्रज कार्टुनिस्टको अनुभव आदानप्रदान गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्टुनिस्ट क्लबका पूर्वअध्यक्ष अविन श्रेष्ठले तीन दशकभन्दा बढी कार्टुन बनाइसकेपछि आफ्नो मात्रै प्रगतिभन्दा नयाँ प्रतिभालाई हौसला प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले एउटा कार्टुनिस्टले अर्को कार्टुनिस्टलाई कार्टुनकै बारेमा पुरस्कार दिन उचित ठानेर कार्टुनिस्टलाई दिने गरी पुरस्कार स्थापना गरेको बताउनुभयो । ललितकलाका कुलपति नारदमणि हार्तम्छालीले पुरस्कृत तथा सम्पूर्ण कार्टुनिस्टलाई शुभकामना दिनुभयो ।  

कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिजले पुरस्कारको छनोट प्रक्रियाबारे प्रस्ट पार्नु हुँदै अग्रजलाई धन्यवादसहित कार्टुनिस्ट दिवसको शुभकामना दिनुभयो । कार्टुनिस्ट राजेश केसीले नेपाली कार्टुनको इतिहासमा अविन श्रेष्ठको योगदान अतुलनीय रहेको चर्चा गर्दै बाबुआमाको नाममा पुरस्कार स्थापना गरेर कार्टुनको विकासमा थप योगदान पुर्‍याएको बताउनुभयो ।