• २ असार २०८१, आइतबार

शीर्षक के हो ?

blog

रमा आफ्नो किताब झोलाभित्र मिलाएर राख्दै छिन् । भोलिदेखि विद्यालयमा पढाइ हुने भएकाले रमा ज्यादै खुसी देखिएकी हुन् । 

रमा दगुर्दै भान्साकोठामा आएर सोध्न थालिन् “आमा, बाबा खोइ त ? कहाँ जानु भयो  ?” 

“किन के भयो र तिमीलाई ? बाबा त तिम्रो विद्यालयमा बैठक छ भनेर बिहानै जानु भएको छ नि ।” 

“आज रमा पढ्ने विद्यालयमा विद्यालय व्यवस्थापन समितिको बैठक भएकाले रमाका बाबा बिहानै त्यतैतिर लाग्नु भएको हो,” आमाले भन्नुभयो। 

रमाका बाबा त्यस विद्यालयको व्यवस्थापन समितिका सदस्य पनि हुनुहुन्छ । रमा त्यसै विद्यालयमा पढ्ने अनुशासित र जेहेनदार छात्रा हुन् । उनी सबै शिक्षकशिक्षिकाको आँखाको नानी बनेकी छिन् । उनलाई सबै शिक्षकशिक्षिकाले ज्यादै नै मन पराउनुहुन्छ । उनी पढाइमा समेत अब्बल भएकै कारण यस वर्षको वार्षिक परीक्षामा पनि प्रथम नै भएकी हुन् । 

 छोरीलाई पढाएर असल र ठुलो मान्छे बनाउने उनीहरूको इच्छा आकाङ्क्षा छ । यस्तै सोचमा डुबेका बेला  रमाले बाबालाई भनिन्, बाबा एउटा कुरा सोधूँ है ? छोरी नजिक गएर रमाका बाबा सोफामा बस्दै सोध्नुहुन्छ, “ल भन त छोरी कुरा के हो ? ” 

“बाबा, हाम्रो यसै टोलमा मसँगै खेल्ने मेरा केही साथी छन् । त्यसमध्ये कति त विद्यालय जान पाएका छैनन्, पढाइ कस्तो हुन्छ । थाहा पनि छैन भन्छन् । पढ्ने इच्छा भएर पनि उनीहरूले पढ्न पाएका छैनन् । हजुरहरूले तिनीहरूलाई पढ्नका लागि सहयोग गर्न मिल्दैन ?”

बाबाले भन्नुभयो, “किन नमिल्नु मिल्छ नि ।” बरु कहाँ छन् उनीहरू ? ल भन त तिनीहरू कहाँ बस्छन् ? मलाई देखाउन सक्छ्यौ ? म सबैलाई पढ्ने व्यवस्था मिलाउँछु । रमाले विद्यालय जान नपाएका आफ्ना साथीहरूका बारेमा बुवालाई सविस्तार बताइन् । उतिखेरै उनीहरू दुवै साथीको घरतिर लागे । ढोकाअगाडि उभिएर रमाका बाबाले बोलाउनुभयो, “घरमा को हुनुहुन्छ हँ ?”  

नानुकी आमा बाहिर निस्किनुभयो । नानु पनि बाहिर निस्केर रमाको हात समात्दै भन्न थालिन्, “रमा तिमी पनि मेरो घरमा ? रमा र नानु दुवै खासखुस खासखुस कुरा गर्दै आँगनको एकाछेउमा हात समाएर खेल्न थाले । 

त्यतिकैमा रमाको बुवाले भन्नुभयो “तपाईंहरूले नानुलाई पढ्न पठाउनु भएको छैन रे भन्ने कुरा मैले मेरी छोरीबाट थाहा पाएर आएको हुँ ?” 

“छोरीलाई पढाउन त मन थियो नि ? तर हाम्रो आर्थिक अवस्था ज्यादै कमजोर छ । त्यसैले विद्यालय नपठाएका हौँ हजुर ?”

“तपाई चिन्ता नगर्नु होस् । भोलिदेखि नानु पनि विद्यालय जान्छिन् । त्यसको व्यवस्था हामी गर्ने छौँ ।” दुवैले रमाएर खेलेको हेर्दै रमाका बाबाले भन्नुभयो । 

“सरकारी विद्यालयमा निःशुल्क पढ्न पाइन्छ । किताब र खाजाको पनि सरकारले व्यवस्था गरिहालेको नै छ । आवश्यक पर्ने कापी, कलम, झोला र विद्यालय पोसाक हामीहरू व्यवस्था गर्ने छौँ । ल, रमासँगै नानुलाई पनि भोलिदेखि नै विद्यालय पठाउनु होला है ।”

भोलिपल्ट खाना खाएर रमा र नानु दुवै हात समातेर विद्यालयतिर लागे । उनले दुवैलाई हात हल्लाएर बिदा गरिन् । 

छोरीलाई पढाउने आफ्नो इच्छा पूरा भएकोमा नानुकी आमा ज्यादै खुसी छिन् । उनले मनैदेखि नै नानुलाई धेरै धेरै धन्यवाद दिइन् । 

  

Author

देवेन्द्र अर्याल ‘आँसु’