• ५ जेठ २०८१, शनिबार

तम्बाभिरमा मह सिकार

blog

मुरारी अधिकारी

धादिङ, वैशाख २३ गते  । गङ्गाजमुना गाउँपालिका–२ र ३ को सिमानामा रहेकोे ताप्राङ खोलामा रहेको निकै कहालीलाग्दो तम्बाभिर । भिरका बिचमा सुन्दर माहुरीका २९ वटा चाका । दुई दिनदेखिको तयारीपछि भिरमा टाँगिएका डोरीको भ-याङ । मौरीको गोला रहेको मुन्तिर हरियो स्याउला बालेर धुवाँ पुत्पुताइन्छ । मौरीलाई वनमा डढेलो लागेको जस्तो देखाएर ध्यान भङ्ग गर्न र मान्छेलाई नटोकोस् भनेर त्यसो गरिन्छ । धुवाँ पुत्पुताएपछि मौरीले गोला छोड्दै जान्छ । 

सिकारीले कोक्रो बाँधेको डोरी तान्ने, छोड्ने गर्छन् । उमानाथ गोलाको सोझै आइपुगेपछि तोस्रोले मह काढ्नु हुन्छ । कोक्रोमा थाप्नुहुन्छ । तल जयबहादुर क्षेत्री र प्रेमबहादुर पौडेल क्षेत्री कोव्रmो कुरेर बस्नुहुन्छ । उहाँहरू चाका आएपछि हातैले निचोरेर मह जम्मा गर्नुहुन्छ । मह काढ्दा प्रयोग हुने भाषा अलग्गै छ । कोक्रो बाँधेको डोरी बिस्तारै बिस्तारै छोडिन्छ, गोलानिरै कोव्रmो आएपछि चिच्याइन्छ जसमा खुसीको भाव देखिन्छ । चाका जम्मा गरेर कोक्रो छोडेपछि माथि बसेकाले डोरी छाड्दै तल पु-याउँछन् । तल चाका जम्मा भएपछि हर्षोल्लासको वातावरण देखिन्छ । माथि बसेकाले डोरी तान्छन् । डोरीमा झुन्डिएर महको सिकार गर्नेका लागि खाना र पानी डोरीको माध्यमबाट नै लैजाने गरिन्छ । 

तम्बाभिर माहुरीको बासले मात्र होइन, सँगै रहेको झरनाको दृश्यले निकै मन लोभ्याउँछ । भिरमा मानिस झुन्डिएर मह सङ्कलन गरेको दृश्य, कलकलाउँदै बहेको पानी र माथिबाट झरेको झरना निकै मनमोहक देखिन्छ । साहसिक पर्यटनको अत्यधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२, तम्बाभिरमा मह सिकार (हनी हन्टिङ) गरिएको छ । ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’ को अनुसन्धान तथा प्रवर्धनको अन्वेषणका लागि पुगेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), गङ्गाजमुना गाउँपालिकाको संयुक्त टोलीको उपस्थितिमा तम्बाभिरमा ‘हनि हन्टिङ’ गरिएको हो । 

उक्त महभिर गङ्गाजमुना–२ र ३ को सिमाना ताप्राङ खोलामा पर्दछ । गङ्गाजमुना–३ का वडाध्यक्ष राजकुमार गुरुङले वडाभित्रका पर्यटकीय क्षेत्रको खोज गरी संरक्षणमा वडा लागेको बताउनुभयो । बुधबारदेखि सुरु भएको भिरमौरी मह निकाल्न चार दिन लाग्छ । भिरमौरीको मह निकाल्नका लागि री गाउँका चन्द्रबहादुर तामाङ, कुर्मु तामाङ, दुर्गा तामाङ सुरक्षा सामग्रीसहित भिरमा टाँगिएको डोरीमा बसेर आगो लगाउने, चाका काट्नेलगायतका काम गरिरहेको देखिन्छ । भिरमौरीको मह वर्षमा दुई पल्ट काढिन्छ । जेठमा काढ्ने मह विषाक्तसमेत हुन सक्छ । उक्त महले कसै कसैलाई नसहने र बिरामी नै बनाउने किसिमको हुन्छ । रातो गुराँसमा पाइने रसबाट बन्ने महले मात लाग्छ । मङ्सिरमा काढ्ने मह भने पोषिलो हुन्छ । भिरमौरीको महलाई स्थानीयवासीले औषधीका रूपमा प्रयोग गर्दै आएका कुर्मु तामाङ बताउनुहुन्छ । 

तामाङ भाषामा ‘ह्यारा’ को अर्थ भिरमौरी भन्ने बुझिन्छ । गङ्गाजमुना–२ का वडाध्यक्ष बलबहादुर तामाङले तम्बाभिरमा पुर्खाको पालादेखि नै मह झिक्ने चलन भएको र अहिले पनि निरन्तरता पाएको बताउनुभयो । मह झिक्नका लागि नजिकै रहेको लताप, धुसेनी र तावलका स्थानीय बासिन्दाको मात्रै सहभागिता रहने गरेको छ । मह झिक्न भिरमा प्रयोग हुने डोरीको भ-याङलगायतका सामग्री खरिद गर्न हाल ‘री’ गाउँका छ युवाले दुई लाख रुपियाँ लगानी गरेको र उत्पादन भएको मह एक हजार पाँच सयदेखि दुई हजारसम्ममा बिक्रो गरिँदै आएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

भिरमौरीको महलाई आगामी दिनमा संरक्षण समिति बनाएर उत्पादन गरिने अध्यक्ष तामाङको भनाइ छ । उक्त महभिरमा दुई सय वर्षदेखि भिरमौरीको मह निकालिँदै आएको स्थानीय वृद्ध आइतराम तामाङ बताउनुहुन्छ । गङ्गाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले विगत लामो समयदेखि भिरमौरीको मह उत्पादन हुँदै आएको तम्बाभिरमा मह उत्पादनका लागि आवश्यक सामग्री गाउँपालिकाले व्यवस्थापन गरेर पर्यटन प्रवर्धनमा सहयोग गर्दै आएको बताउनुभयो । श्रेष्ठका अनुसार यो क्षेत्र साहसिक पर्यटनको अत्यधिक सम्भावना भएको क्षेत्र भएकाले महबाहेक क्यानोइङको समेत सम्भावना देखाएकाले गाउँपालिकाले यसको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्ने जानकारी दिनुभयो । भिरमा रहेको महलाई बेचेर मात्र होइन उक्त स्थानलाई अवलोकन स्थल बनाएर पर्यटन भिœयाउने योजना गाउँपालिकाले राखेको छ ।