• ५ जेठ २०८१, शनिबार

दुई दर्जनभन्दा बढी घरगोठ जले

blog

तानसेन समाचारदाता 

तानसेन, वैशाख २३ गते । पाल्पामा एकै दिन विभिन्न स्थानमा आगलागीबाट २५ बढीभन्दा बढी घरगोठ जलेर नष्ट भएका छन् । पाल्पाको पूर्वखोला–६, हेक्लाङस्थित खुमडाँडा, बाँसडाँडा, रिडीलगायतका क्षेत्रमा १६ भन्दा बढी घरगोठ जलेर नष्ट भएका हुन् ।  वडाध्यक्ष धनबहादुर घर्तीले आगलागीका कारण गोठमा रहेका बाख्रा, बङ्गुरलगायतका पशुचौपाया पनि नष्ट भएको जानकारी दिनुभयो । बुधबार दिउँसोदेखि लागेको आगो बेलुकी बस्तीमा पसेको उहाँले बताउनुभयो । डाँडाबस्तीमा आगो लागेकाले नियन्त्रणमा लिन पानीको समस्या भएको उहाँले बताउनुभयो । 

अझै डढेलो नियन्त्रणमा आउन सकेको छैन । यस्तै पाल्पाको रामपुर–४ र ५ मा आठ घर जलेर नष्ट भएका छन् । रामपुरमा मध्याह्न लागेको आगो बस्तीमा पसेको स्थानीय बासिन्दाले बताएका छन् । आगलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा, बहुमूल्य गरगहना, भाँडाकुँडा जलेर खरानी भएको पीडित परिवारको भनाइ छ । केही दिनयता पाल्पामा विभिन्न स्थानमा आगो लागेको छ । खेतबारीमा झार तथा बुट्यान जलाउँदा आगो वन र घरमा फैलिएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । आगलागीका कारण अहिलेसम्म तीन हजारभन्दा बढी हेक्टर क्षेत्रफलका बोटबिरुवा, वन्यजन्तुका बासस्थान, वन्यजन्तुका सन्तान, जडीबुटी डढेर सखाप भएको कार्यालयका सूचना अधिकारी संयोग बस्नेतले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो वर्ष बढी खडेरीका कारण पनि डढेलो लागेको छ, धेरै डढेलो मानिसको लापर्बाहीले लागेको देखिएको छ ।” 

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले पछिल्लो एक महिनामा ६० भन्दा बढी घर तथा गोठमा आगलागी भइसकेको छ । आगलागीबाट मानवीय क्षति भने अहिलेसम्म नभएको जानकारी दिनुभयो । दिनहुँ दर्जनौँ स्थानमा आगलागीका घटनाले प्रहरी, सशस्त्र प्रहरी र सेनालाई हैरानी खेप्नु परेको छ ।  पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले पछिल्लो एक महिनायता रातदिन आगो निभाउने काममा सक्रिय रहेको बताउनुभयो । आगलागीका घटना नियन्त्रणमा लिन दमकललगायतका उपकरण नहुँदा समस्या भएको उहाँले बताउनुभयो ।