• ५ जेठ २०८१, शनिबार

पत्रकार महासङ्घको पारित निर्णयको फोनिजद्वारा स्वागत

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख २२ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नेपाल पत्रकार महासङ्घ (एफएनजे) को २७ औँ महाधिवेशनबाट पारित संस्थापक अध्यक्षको निर्णयलाई स्वागत गरेको छ । 

फोनिजको शनिबार बिहान बसेको बैठकले निर्णयको स्वागत गर्दै आगामी दिनमा सोहीअनुरूप कार्यान्वयनमा तदारुकता देखाउन पनि महासङ्घका पदाधिकारी, सदस्य तथा सम्बद्ध पक्षसँग फोनिजले माग गरेको छ । पत्रकार महासङ्घको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ रहेको विषय दस्ताबेजले स्पष्ट पारे पनि त्यस विषयमा टुङ्गो नलाग्दा फोनिजले विभिन्न सङ्घर्षको कार्यक्रम गर्दैआएको छ । 

वि.सं. २००८ साल वैशाख ९ गते बसेको पत्रकारको भेलाले श्रेष्ठको नेतृत्वमा पहिलो पटक नेपाल पत्रकार सङ्घ गठन गरेको थियो । सोही सङ्घ नै आजको महासङ्घको निरन्तरता भएकाले संस्थापक अध्यक्ष श्रेष्ठलाई कायम गर्नुपर्ने माग फोनिजले उठाउँदै आएको छ । तर महासङ्घको विधानले वि.सं. २०१२ साल चैत १६ गते कृष्णप्रसाद भट्टराई नेतृत्वको समितिलाई संस्थापक मान्दैआएको छ । 

शुक्रबार काठमाडौँमा सम्पन्न महासङ्घको २७ औँ महाधिवेशनले संस्थापकको विषयलाई सम्बोधन गर्दै भनेको छ, “नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्षको विषयलाई हाल उत्पन्न विवादलाई दृष्टिगत गरी उक्त विषयमा त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभाग तथा इतिहास विभागसँगको समन्वयमा अध्ययन अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्न यो महाधिवेशन महासङ्घलाई निर्देश गर्दछ ।”

फोनिजका अध्यक्ष गजुरधन राईले महासङ्घको पारित निर्णयलाई फोनिजले स्वागत गर्दै कार्यान्वयनका लागि आग्रह गर्ने बताउनुभयो । “एक चरणको उपलब्धि प्राप्त भएको छ, अब यसको कार्यान्वयनका लागि आगामी दिनमा पनि दबाब तथा सङ्घर्षको कार्यक्रम गर्नुपर्ने आवश्यकता आउनसक्छ” उहाँले भन्नुभयो । 

फोनिजका पूर्व सल्लाहकार सञ्जय सन्तोषी राईले महासङ्घले पारित गरेको निर्णय स्वागतयोग्य भएको तर कार्यान्वयनका लागि आगामी दिनमा पनि दबाबको खाँचो पर्ने बताउनुभयो । फोनिजको पछिल्लो दबाबमूलक कार्यक्रमकै कारण महासङ्घले संस्थापकको विषयमा टुङ्गो लगाउने निर्णय गरेको उहाँको भनाइ छ । 

फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले महासङ्घले महाधिवेशनबाट पारित निर्णय नं. ५ मा संस्थापकको विषय सम्बोधन गरी ऐतिहासिक काम गरेको चर्चा गर्नुभयो । आगामी दिनमा यही निर्णयमा टेकेर थप निर्णय गर्ने आधार तयार हुने उहाँले बताउनुभयो । 

“महासङ्घको निर्णय स्वागतयोग्य र ऐतिहासिक छ, महाधिवेशनको हलबाट पारित भएर संस्थापकको विषय यसअघि कहिल्यै आएको थिएन, यसलाई हामी स्वागत गर्छौँ” उहाँले भन्नुभयो । फोनिजसहित संस्थापकको विषयमा सकारात्मक धारणा राख्नुहुने सबैको पहलकदमीले त्यो सम्भव भएको उहाँको भनाइ छ ।


पत्रकार महासङ्घका उपाध्यक्ष उदय जिएमले संस्थापक विषयमा महासङ्घ एक कदम अघि बढेर निर्णय लिएको भए पनि आउने नयाँ कार्य समितिको कार्यान्वयन पक्षले उपलब्धि सुनिश्चित हुने नहुने टुङ्गो लाग्ने बताउनुभयो । वर्तमान अध्यक्ष विपुल पोखरेलको जिम्मेवारीबोध तथा सकारात्मक कदमले पछिल्लो निर्णय आएको भन्दै उहाँले महासङ्घका अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । 


फोनिजका अध्यक्ष राईको नेतृत्वमा बसेको बैठकले उपलब्धिबारे समीक्षा गर्दै आगामी कदमबारे गम्भीर छलफल गरेको छ । आगामी जेठ २६ गते हुने महासङ्घको निर्वाचनमा बढीभन्दा बढी जनजाति पत्रकारलाई कार्य समितिमा निर्वाचित गराउन कार्यनीति बनाएर अघि बढ्ने छलफल पनि गरेको छ । बैठकमा फोनिज सङ्घीय समितिका पदाधिकारी, सदस्य, महासङ्घको २७ औँ महाधिवेशनमा भाग लिन आउनुभएका देशभरका जनजाति पत्रकारको सहभागिता थियो ।