• ९ जेठ २०८१, बुधबार

स्थानीय पाठ्यक्रम अनुसार पाठ्यपुस्तक लागू हुने

blog

हेटौँडा उपमहानगरपालिकाको कार्यालय । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, वैशाख २२ गते । 
आफ्नो क्षेत्रको भौगोलिक अवस्था, बसोबास गर्ने जातजाति, उनीहरूको भाषा, धर्म, संस्कृति, चाडपर्व, आर्थिक, सामाजिक र राजनीतिक अवस्था, ऐतिहासिक महत्त्वलगायतका विषयवस्तु समेटेर हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ८ सम्म स्थानीय पाठ्यपुस्तक लागू गर्ने भएको छ ।

उपमहानगरपालिकाले चालु शैक्षिक सत्रदेखि नगरभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम अनुसारको ‘हाम्रो हेटौँडा’ लागू गर्ने निर्णय गरेको हो । यसअघि कक्षा ३ सम्म स्थानीय पाठ्यपुस्तक लागू भएको थियो ।

उपमहानगरपालिकाको ४३ औँ कार्यपालिका बैठकले चालु शैक्षिक सत्रदेखि नै नगरभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा कक्षा ८ सम्म स्थानीय पाठ्यक्रममा आधारित पुस्तक ‘हाम्रो हेटौँडा’ लागू गर्ने निर्णय गरेको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिनुभयो ।

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै स्थानीय तहरुले पाठ्यक्रम तयार पारेर लागू गर्न पाउने व्यवस्था छ । सोही अनुसार मकवानपुरका १० मध्ये आठ पालिकाले यसअघि देखिनै स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याइसकेका छन् । स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याउने पालिकाहरूमा हेटौँडा उपमहानगरपालिकासँगै बागमती, मकवानपुरगढी, भीमफेदी, इन्द्रसरोवर, थाहा नगरपालिका, मनहरि र राक्सिराङ गाउँपालिका रहेका छन् । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को ज (४) मा मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमनसम्बन्धी व्यवस्था गरी स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सकिने भएपछि मकवानपुरका पालिकाहरूले आफ्ना विद्यालयहरूमा स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याएका हुन् ।