• ७ असार २०८१, शुक्रबार

श्रीकृतको नयाँ किताब

blog

स्थान : श्रीकृतको कोठा 

समय : बेलुकी ८ः०० बजे

पात्र : श्रीकृत र आमा

श्रीकृतको अगाडि नयाँ किताब र कापीहरू छन् । ती किताब र कापीमा उनी गाता राख्दै छन् । उनको मुख हँसिलो देखिन्छ । नजिकै नयाँ स्कुलको ब्याग पनि रहेको छ । नेपथ्यबाट बजिरहेको बालगीतले गर्दा उनको मुख झन् हँसिलो र जोसिलो बनेको झल्को मिल्छ । विस्तारै बालगीतको आवाज सानो हुन्छ । 

आमा : (आमाको हातमा दुधको गिलास रहेको छ)  होइन, मेरो प्यारो छोरो, अझै सुतेका छैनौ...आज तिमीलाई निद्रा लागेको छैन ? (दूध नजिकैको टेबुलमाथि राख्नुहुन्छ र छोरो नजिकै आएर बस्नुहुन्छ) 

श्रीकृत : (आमातिर हेर्छन्) आमा... हगी नि...मलाई साँच्चै आज निद्रा लागेकै छैन...अघिपछि भएको भए अघि नै निद्रा लागिसक्थ्यो ...तर...आज...

आमा : (छोरालाई हेरेर मुस्कुराउनु हुन्छ) त्यही त भन्या, तिमीलाई आज निद्रा चाहिँ किन नलागेको ? 

श्रीकृत : आमा छ नि... यी नयाँ किताब र कापीमा गाता राख्न मलाई निकै रमाइलो लाग्छ...

(आमालाई हेर्छन्)...किताब र कापीलाई सधैँ जतन गरेर राख्नु पर्दछ रे ! हामीलाई रमिला म्यामले भन्नुभएको...

आमा : (छोराको कपाल सुमसुम्याउनु हुन्छ) हो त नि ! 

श्रीकृत : (आमालाई हेरेर ) छ नि, आमा...म त सबै किताब र कापीमा गाता राखेर मात्रै सुत्छु है । थाहा छ, आमा ! मैले आज दिनभर यी सबै किताब हेरेँ नि ! मलाई त दिन बितेको पत्तै भएन ।

आमा : जुन काम हामीले रमाइलो मानेर गर्छौं, त्यो काम गर्दा आनन्द आउँछ । 

श्रीकृत : (आमाको कुराले उत्साहित हुन्छन्) थाहा छ, आमा ! नेपाली किताबमा त कति राम्रा राम्रा कविता, कथा र निबन्ध आदि रहेछन्, मैले सबै पढेँ । 

 आमा : (छोराको कुराले निकै खुसी देखिनु हुन्छ) यति धेरै कुरा पढ्न र बुझ्नका लागि शारीरिक र मानसिक स्वस्थ हुनु आवश्यक छ (टेबुलको दुध छोरालाई दिनु हुन्छ) मेरो ज्ञानी छोराले यो दुध पिउँछ र स्वस्थ बन्छ । 

श्रीकृत : (किताबमा गाता राख्दै हुन्छन्) मेरी आमा !, तपाईं पनि... भोलिदेखि मेरो नयाँ कक्षा सुरु हुन्छ नि  । 

आमा : हो त नि है ! तिमी त धेरै  उत्साहित छौ !

श्रीकृत : हो नि, आमा ! नयाँ कक्षाकोठा, नयाँ साथीहरू, नयाँ किताबकापी...नयाँ जोस ..नयाँ जाँगर....

आमाः तिमीलाई हेर्दा त यस्तो लागिरहेछ, यो नयाँ शैक्षिक सत्र त विद्यार्थीका लागि त नयाँ उत्सव नै हो ।

श्रीकृत : (अझ खुसी हुन्छन्) हो  त नि, आमा, मलाई त भोलिको दिन कस्तो होला ? भन्ने जिज्ञासाले मनमा कुतकुती लागिरहेको छ । ...मेरो अति मिल्ने साथी छ नि, राकेश उनी पनि त पोहोरको शैक्षिक सत्रमा अन्यत्र स्कुलबाट हाम्रो विद्यालयमा पढ्न आएका हुन् नि ! (केहीबेर सोचेझै गर्छन्) अन्य विद्यालयमा जाँदा त अलि दिन नरमाइलो लाग्ला । हगि आमा,  कोही चिनेका हुँदैनन्...नयाँ विद्यालय...

आमा : (सम्झाउने शैली) विविध कारणले गर्दा उनीहरूले पुरानै विद्यालयमा पढ्न पाउँदैनन् । नयाँ विद्यालयमा पढ्नुपर्ने हुन्छ । यस्तो प्रतिकूल परिस्थितिमा सबै साथीले सहयोग गर्नु पर्दछ । 

श्रीकृत : हो नि ! मलाई पनि त्यस्तै लाग्छ तर छ नि आमा, त्यो हरि छ नि, मेरो साथी, त्यसले हाम्रो विद्यालयमा आउने नयाँ विद्यार्थीलाई धरै दुःख दिन्छ  र आफू चाहिँ हाँसेर मज्जा लिन्छ । 

आमा : त्यसरी अरूलाई दुःखमा देखेर हाँस्नु नराम्रो बानी हो । यस्तो कहिल्यै गर्नु हुँदैन । 

श्रीकृत : (असल भावमा दृढ भए बोल्छन्) म त्यस्तो कहाँ गर्छु र ? म तिनीहरूलाई हाम्रो विद्यालयमा स्वागत गर्छु र मैले गर्न सक्ने सहयोग गर्छु । सँगै मिलेर पढ्छु  । ...तर यसपालि नयाँ विद्यार्थी आउँछन् कि आउँदैनन् ?

आमा भित्ताको घडीमा हेर्छिन् । घडीमा ठीक ९ बजेको हुन्छ । आमा श्रीकृत सामुन्ने छरपस्ट छरिएका किताब र कापी बटुलेर मिलाउनु हुन्छ र टेबुलमा राख्नुहुन्छ ।

आमा : लौ उठ, छोरो, ९ बजिसक्यो । अब सुत्नु पर्दछ । भोलिबाट विद्यालय जानु पर्दछ । नयाँ जोस जाँगरका साथ । 

श्रीकृत : हुन्छ, आमा म सुत्छु । 

उनी सुत्न तरखर गर्दछन् । आमा बत्ती निभाउनु हुन्छ । मञ्च अन्धकार हुन्छ । 

(डा. कान्छीमायाले नेपाली नाटक विषयमा विद्यावारिधि गर्नुभएको छ भने बाल नाटकमा कलम चलाउँदै आउनु भएको छ ।)  

Author

कान्छीमाया महर्जन