• ८ मंसिर २०८१, शनिबार

मुलुकले आशा गरेको नेतृत्व

blog

असल नेतृत्वले लोकतान्त्रिक शैली अपनाएर आचरण र व्यवहारमा परिवर्तन ल्याउँदै विधि र पद्धतिलाई स्थापित गर्छ । जनभावना बुझ्दै नेता, कार्यकर्ता र विज्ञको राय सल्लाहबाट देश र जनताको हितमा निर्णय लिन्छ । सामूहिक रूपमा पारदर्शी ढङ्गले काम गर्ने संरचनामा जोड दिन्छ । आफूसँग काम गर्ने टिमसँगको सम्बन्ध सुमधुर बनाएर प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्छ । टिममा राम्रो परिणाम निकाल्ने सदस्यलाई प्रोत्साहन र हौसला स्वरूप नयाँनयाँ जिम्मेवारी दिँदै जान्छ । देश र जनताको हितमा रहेका राम्रा सम्भावनालाई प्राथमिकतामा राखेर काम गर्दै निजी स्वार्थमा केन्द्रित शक्तिलाई परास्त गर्छ । जनताको परिवर्तनको चाहना पूरा गर्न प्रतिबद्धताका साथ काम गर्ने क्षमता राख्छ । प्रतिपक्षले उठाएका जनताका आवाजलाई सम्मान गर्छ । असल नेतृत्व जनतामा सर्वाधिक लोकप्रिय हुन्छ ।

लोकप्रिय नेतृत्वले उद्देश्य प्राप्तिका लागि नीति, योजना र कार्यक्रम बनाउनुका साथै स्वतन्त्रसँग उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माण गरिरहन्छ । इमानदारी र स्वच्छ छविलाई महत्व दिँदै कार्य सम्पादन र सहभागीसँगको सम्बन्ध दुवैलाई सन्तुलित गरेर सफलताको शिखर चुम्ने कोसिस गरिरहन्छ । लक्ष्यमा ध्यान केन्द्रित गर्दै आत्म नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर देश र जनताको हित र आवश्यकताका आधारमा शक्ति परिचालन गर्ने रणनीति लिन्छ । सबैसँग पारस्परिक सहयोग, समझदारी र सद्भावको विकास गरेर सफलता हासिल गर्न आफ्नै मौलिक सिप र कार्यशैलीको विकास गरी निरन्तर मेहनतका साथ क्षमता अभिवृद्धि गर्छ । परिश्रम, प्रतिबद्धता र समर्पणको भावनासहित सकारात्मक सोच र सकारात्मक दृष्टिकोण राख्दै मन, बुद्धि र संस्कारको समन्वय गरेर निरन्तर काममा अगाडि बढ्ने कार्यशैलीलाई आधार बनाउँछ । परिवर्तनलाई आत्मसात् गरेर आमजनता र कार्याकर्तालाई परिचालन गर्दै परिवर्तनको नेतृत्व गर्छ ।

परिवर्तनकारी नेतृत्वले पार्टी र पार्टीमा आबद्ध नेता तथा कार्याकर्तालाई जहिले पनि जनताको आशा र भरोसाको केन्द्रबिन्दु बनाउन सधैँ प्रयात्न गरिरहन्छ । जनताको चाहना, भावना र आवश्यकतालाई बुझेर पार्टी पङ्क्तिलाई परिचालन गर्ने रणनीति लिन्छ । पार्टीलाई बलियो बनाउन वैचारिक, सैद्धान्तिक र साङ्गठानिक विकासमा जोड दिँदै पार्टीका गतिविधि तथा कार्यशैलीमा अस्तव्यस्तता आउन दिँदैन । पार्टीमा आबद्ध नेता तथा कार्यकर्ता देश र जनताको चिन्तन गर्छन् कि पद र पैसाको चिन्ता गर्छन्, त्यसलाई परीक्षणको पहिलो विधि बनाउँछ । पार्टी तथा सङ्गठनलाई सुदृढ र व्यवस्थित गर्न नेता तथा कार्यकर्ताको जीवनशैली तथा कार्यशैलीमा रूपान्तरण गरी देश र जनताप्रति समर्पित नेतृत्वको विकासमा निरन्तर जोड दिन्छ । पार्टीलाई नेतृत्वको मुढको भरमा चलयमान नबनाई सिद्धान्त, विचार, विधि र पद्धतिको आधारमा चलयमान बनाउँछ । पार्टीलाई विधिवत् रूपमा सञ्चालन गर्न योग्य, अनुशासित, इमानदार, कर्तव्यनिष्ठ र चरित्रवान् नेता तथा कार्यकर्ताको विकास गरी अराजकता र हैकमवादलाई अन्त्य गर्ने कार्यशैली अवलम्बन गर्छ । परिवर्तनकारी नेतृत्वले नै मुलुकलाई कुशलतापूर्वक समृद्धिको बाटोमा अघि बढाउने क्षमता राख्छ ।

कुशल नेतृत्वले पार्टी तथा सङ्गठनलाई बलियो बनाउन सङ्गठनात्मक एकतामा जोड दिँदै, सबैलाई सबै क्षेत्रमा लागु हुने गरी एउटै मापदण्डको कार्यविधि बनाउँछ । पार्टीमा सबैलाई क्षमताको आधारमा समानताको विधिबाट साङ्गठानिक तथा राज्य सत्ताको जिम्मेवारी प्रदान गर्ने मापदण्ड बनाउँछ र सफलतापूर्वक कार्यान्वयन गराउँछ । आमनेता तथा कार्यकर्तामा सङ्गठन र नेतृत्वप्रति विश्वास बढाउँदै एकताबद्ध बनाई अगाडि बढाउने वातावरण बनाउँछ । सङ्गठनमा मौलाएको अराजकतालाई समयमा नै व्यवस्थापन गर्दै पार्टीलाई अराजकताको दिशामा जान दिँदैन । अनुशासनमा जोड दिँदै सैद्धान्तिक र वैचारिक धरातललाई बलियो बनाएर पार्टीलाई गतिशील बनाउँछ । पार्टीभित्र हुने विमति तथा असहमतिका आवाजको कदर गर्दै संवाद र सहकार्य गरेर अनेकताभित्र एकता खोजी गर्छ । बहुमतलाई अल्पमतले स्वीकार गरेर अगाडि बढ्ने विश्वव्यापी मान्यतालाई पार्टी कमिटीमा स्थापित गर्छ । पार्टीमा मूल्य र मान्यता स्थापित गरेर सदाचारी चरित्रलाई आफ्नो आदर्श बनाउँछ ।

सदाचारी नेतृत्वले सुशासनलाई उच्च प्राथामिकता दिँदै भ्रष्टाचारलाई शून्यमा झार्ने रणनीति अख्तियार गर्छ । मुलुकलाई विकासको दु्रत गतिमा अगाडि बढाउन भ्रष्टाचारविरुद्धको अभियानमा अग्रस्थानमा रहेर काम गर्ने नीति अगाडि सार्छ । मुलुकमा हुने विदेशी हस्तक्षेपविरुद्ध कुनै प्रलोभनमा नपरी कूटनीतिक रूपमा कडासँग प्रस्तुत हुँदै किनारा लगाउँछ । अरूमाथि हैकम चलाएर, दादागिरी देखाएर वा सर्वसत्ता कायम गरेर ठालु हुने प्रवृत्तिको अन्त्य गर्दै एकता र सहमतिका साथ अगाडि बढ्ने कार्यशैली अवलम्बन गर्छ । गलत राजनीतिक अभ्यासले समाजमा द्वन्द्व उत्पन्न गर्छ र समृद्धिमा अवरोध खडा गर्छ भन्ने कुरामा स्पष्ट हुन्छ । राजनीतिक र आर्थिक स्थिरताले नै मुलुकलाई आत्मनिर्भरको बाटोमा अगाडि बढाउँछ र जनचाहनालाई सम्बोधन गर्न सकिन्छ भन्ने दृष्टिकोणमा कुनै दुविधा राख्दैन । मुलुकको विकास र समृद्धिका लागि प्रतिबद्ध भएर नेतृत्व प्रदान गरिरहन्छ ।

मुलुक हाँक्ने राजनीतिक दल तथा नेतृत्व योग्य, सक्षम र प्रतिबद्ध नभए मुलुक प्रगतिको दिशामा अगाडि बढ्न कठिन हुन्छ । राजनीतिलाई पेसा होइन, सेवाको रूपमा लिनु पर्छ । राजनीतिलाई व्यक्तिगत आर्जन गर्ने साधनको रूपमा लिनेलाई पार्टी नेतृत्वमा पु¥याउनु हुँदैन । पार्टी नेतृत्वमा पुग्न निश्चित मापदण्ड र मूल्यमान्यतालाई आधार बनाउनु पर्छ । अन्यथा खराब सोच बोकेका नेतृत्वले जनतामाथि शोषण र दमनको नीतिलाई आधार बनाएर शक्ति आर्जन गर्ने र जनतालाई कमजोर बनाउने काम गर्छन् । राजनीतिक दल भनेको सधैँ देश र जनताका लागि काम गरिरहने क्रियाशील शक्ति हो । भ्रष्ट, अपराधी, दलाल तथा वंश राजनीतिको पृष्ठभूमिका आधारमा हाबी हुन खोज्ने नेता तथा कार्यकर्ताको सूची तयार पारी पार्टीले विशेष निगरानी राख्दै विधि तथा पद्धतिविरुद्ध कसैलाई पनि पार्टीमा हाबी हुन दिनु हुँदैन । उनीहरूलाई आफ्ना गल्तीको प्रायश्चित गर्दै चरित्र सुधारका लागि अवसर दिने तथा सुधारको नीति लिनु पर्छ । त्यसले पार्टी तथा सङ्गठनलाई बलियो बनाउँछ । 

पार्टीमा आन्तरिक लोकतन्त्र निरन्तर रूपमा फस्टाउने वातावरण नेतृत्वले बनाउनु पर्छ । लामो समयसम्मको लोकतान्त्रिक अभ्यासले नै उन्नत लोकतन्त्रिक संस्कारमा रूपान्तरित पार्टी बन्छ । पार्टीभित्र आन्तरिक लोकतन्त्र हुर्काउन पार्टीले अङ्गीकार गर्दै आएको सिद्धान्त र व्यवहारबिच आपसी तालमेल हुनु पर्छ । व्यवहारमा लोकतान्त्रिक नभएका कारण आन्तरिक लोकतन्त्रको निरन्तरतामा समस्या खडा हुने गर्छ । पार्टीभित्र जागेको खराब प्रवृत्तिविरुद्ध तथा निराकरणको चरणसम्म स्वस्थ अन्तरपार्टी सङ्घर्ष चलाउनु पर्छ । नेतृत्वले एक व्यक्ति, एक पदको लोकतान्त्रिक विधि अपनाएर सबै नेता तथा कार्यकर्ताको व्यवस्थापनमा ध्यान दिनु पर्छ । पार्टीमा सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारीको सिद्धान्तको अनुसरण गरेर अगाडि बढ्ने पार्टी पद्धतिको विकासमा जोड दिनु पर्छ । 

असल पार्टीको निर्माण गर्न असल नेतृत्वको विकास गर्नु अपरिहार्य छ । पार्टीको भविष्य सुनिश्चित गर्न नयाँ पिँढीमा पार्टीले विशेष ध्यान दिई पार्टीमा आबद्ध गर्न निरन्तर अभियान जारी राख्नु पर्छ । पार्टीको घेराभित्र रहेका नयाँ पिँढीलाई उनीहरूको कार्यक्षेत्र अनुसार सहज हुने गरी पार्टीका सिद्धान्त, नीति तथा कार्यक्रमहरूबारे राजनीतिक प्रशिक्षण दिएर क्षमता अभिवृद्धि गरी सङ्गठित गर्नु पर्छ । पार्टीको विधान र नियमवली, माथिल्ला कमिटीबाट जारी अन्तर पार्टी निर्देशिका प्रति सबै पार्टी सदस्यले अक्षरशः पालना गर्दै पार्टी सङ्गठनलाई मजबुत बनाउनु पर्छ । पार्टी कामलाई व्यवस्थित बनाउन पार्टी कमिटी अन्तर्गतका विभाग, फाँट, आयोग, निकाय, जनवर्गीय सङ्गठनलाई जिम्मेवारीका साथ परिणाम निकाल्ने गरी आआफ्नो क्षेत्रमा क्रियाशील गराउनु पर्छ । 

पार्टी तथा सङ्गठनलाई सुदृढीकरण गर्न सङ्गठनका अनुभव, समस्या तथा सम्भावनाको अध्ययन, अनुसन्धान र छलफल गरेर निस्किएका निष्कर्षको आधारमा सङ्गठनात्मक नीतिमा सुधार गरेर काम गर्नु पर्छ । विशेषतः राजनीतिक दलले राजकीय जिम्मेवारीमा पठाउँदा राजकाजको राम्रो शिक्षा दिएर जिम्मेवार बनाउने र जिम्मेवार नबन्नेलाई तुरुन्त हटाउने नीतिलाई कडाइका साथ लागु गर्नु पर्छ । त्यसो गर्न सकेको खण्डमा मुलुकलाई बरबादी गर्ने शक्तिहरू पाखा लाग्न बाध्य हुन्छन् । असल पार्टीको परिकल्पना गर्दा पार्टी कमिटीमा रहेका पदाधिकारी तथा सदस्यहरू असल बनाउने विषयमा विशेष ध्यान दिनु पर्छ । उनीहरूलाई विभिन्न विषय विज्ञसमेत सम्मिलित पार्टी समूहले निगरानी गर्ने पार्टी प्रणालीको विकास गरी माथिल्लो कमिटीबाट नियन्त्रण र रेखदेख गर्ने परिपाटीलाई व्यवस्थित गर्नु पर्छ । 

पार्टीले आमजनतालाई प्रभाव पार्ने निर्णय लिनुपूर्व कमिटीगत रूपमा छलफल गरी राय सुझाव लिने र पार्टीले लिएको सही कार्यदिशाको आधारमा कमिटीहरूले सही निर्णय लिई निर्देशन दिनु पर्छ । निर्णय र निर्देशन कार्यान्वयनका लागि कमिटीले पार्टी सदस्यहरूलाई राम्रोसँग बुझाई एकताबद्ध गराएर प्रतिबद्धताका साथ जिम्मेवारी पूरा गर्नु पर्छ । मुलुक बनाउन चाहने पार्टीलाई जनताले सधैँ साथ दिन्छन्, त्यसैले पार्टी नेतृत्वले सुधारका नयाँ नीतिहरू ल्याउँदै मुलुकप्रति समर्पित नयाँ नेतृत्व विकासमा प्राथमिकता दिएर मुलुकलाई सही बाटोमा अगाडि बढाउनु पर्छ । असल नेता तथा कार्यकर्ताको उत्पादन गर्नु भनेको एकातिर पार्टीको उज्ज्वल भविष्य निर्माण गर्नु हो भने अर्कातिर देश र जनताले खोजेको नेतृत्व मुलुकले पाउनु पनि हो ।

Author

डा. ज्ञानेन्द्रबहादुर कार्की