• ३ जेठ २०८१, बिहिबार

बिउ उत्पादनसँगै आम्दानीमा पनि सफल

blog

सुर्खेत समाचारदाता

सुर्खेत, वैशाख २० गते । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाका १४ वडा, भेरीगङ्गा नगरपालिकाका दुई वडा र सिम्ता गाउँपालिकाको एक वडाका करिब एक हजार ६४५ जना कृषक बिउ उत्पादनमा आत्मनिर्भरसँगै मनग्गे आम्दानी गर्न सफल बनेका छन् । 

बिउ उत्पादनमा नौ सयभन्दा बढी महिलाको सहभागिता छ । जसमा ८८० महिला कृषकले प्रतिवर्ष ४५ हजारदेखि ७० हजार रुपियाँसम्म बिउ उत्पादनबाट अम्दानी गर्दै आएका छन् भने १५६ जना महिला कृषकले बिउ उत्पादनबाट वार्षिक एक लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

सो क्षेत्रका साबिक मैनतडा, मेहेलकुना, साहरे, दहचौर र घुमखहरे गाविसमा २०५२ सालमा वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र (सिप्रेड) ले विभिन्न कृषक समूह गठन गरी तरकारी तथा तरकारी बिउ उत्पादन कार्यक्रम सञ्चालनमा ल्याएको थियो । सिप्रेडले सञ्चालन गरेको कृषि कार्यक्रमको प्रेरणा तथा कार्यक्रमले ल्याएको परिवर्तनलाई स्थानीयस्तरमा संस्थागत गर्ने हेतुले संस्थाकै प्राविधिक सहयोगमा २०५८ साल १५ मङ्सिरमा डिभिजन सहकारी कार्यालय बाँकेमा विधिवत् दर्ता भएर पवित्र जनकल्याण कृषक सहकारी संस्था स्थापना भएको थियो ।

करिब १० वर्षअघि स्थानीयस्तरमै बिउ उत्पादन गर्ने गरेको सहकारीले हाल आएर ‘पवित्र बिउ’ नामक उद्योग नै स्थापना गरी देशभरका ४४ जिल्लामा विभिन्न १० प्रजातिका हिउँदे, १२ प्रजातिका बर्खे तरकारी र छ प्रजातिका खाद्यान्न बालीको बिउ उत्पादन गरी निर्यात गरिरहेको छ ।

हालसम्म संस्थाले उत्पादन गरेका बिउ ४४ जिल्लामा पुग्ने गरेको संस्थाका अध्यक्ष नौलसिंह खत्रीले बताउनुभयो । स्थानीयस्तरबाट सुरु भएको संस्थाको बिउ उत्पादनको यात्रा अहिले देशव्यापी बनेको छ । ‘किसानदेखि किसानसम्म’ भन्ने नीति लिएको संस्थाले विभिन्न ४२ वटा कृषक समूह बनाएर बिउ उत्पादन र बजारीकरण गर्दै आएको छ । संस्थाले कृषकलाई घाँस काट्ने मेसिन, हाते ट्याक्टर, स्प्रे मेसिन तथा प्लास्टिक टनेल, जैविक विषादी आदिमा सहयोग प्रदान गरेको छ । 

कृषि विकास निर्देशनालय, सुर्खेतका निर्देशक चित्रबहादुर रोकायाले कृषिलाई आधुनिकतातर्फ प्रशोधीकरण गर्दै अर्गानिक उत्पादनमा जोड दिन बिउ उत्पादन ब्लक क्षेत्र घोषणा गरी निर्देशनालयले विभिन्न कार्यक्रममार्फत सहयोग गरिरहेको जानकारी दिनुभयो । निर्देशनालयले विभिन्न समयमा कृषि उपकरण खरिद, भवन निर्माण, बिउ प्रशोधन गर्ने मेसिन खरिद, बिउ ढुवानीका लागि गाडी खरिदलगायतमा ८५ लाखभन्दा बढी रकम संस्थालाई अनुदानबापत प्रदान गरेको रोकायाले जनाउनुभयो । उहाँले बिउ उत्पादनमा पूर्वी सुर्खेतका किसान आत्मनिर्भर बन्दै गएको बताउनुभयो ।