• ४ जेठ २०८१, शुक्रबार

देश बनाउने शक्ति एमालेसँग छ : अध्यक्ष ओली

blog

विजय सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष केपी शर्मा ओली । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, वैशाख १८  गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक सीप एमालेसँग मात्र भएको बताउनुभएको छ । देशलाई समृद्ध बनाउन सक्ने शक्ति एमालेसँग भएकाले अर्थनीति, सुशासनको नीति, विकासको नीतिजस्ता हरेक क्षेत्रका नीति एमालेसँग रहेको दाबी गर्नुभयो ।  

इलाममा आयोजित निर्वाचन विजयी सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । “एमाले सय वर्षको हुँदासम्म हरेक क्षेत्रमा नेपाल समृद्ध भइसक्छ । एमालेको नेतृत्वमा नै देशको विकास हुन्छ” उहाँले भन्नुभयो । 

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले पहिचानको मुद्दा उठिरहेको सन्दर्भमा हाम्रो पहिलो पहिचान नेपाली भएको बताउनुभयो । “पहिलो पहिचान नेपाली हो । धनी भए धनी नेपाली, गरिब भए गरिब नेपाली, व्यक्तिगत पहिचानले कोही सफल हुँदैन” उहाँले भन्नुभयो “पहिला पनि मेची, कोशी अञ्चल हुँदा त्यसरी नै त बाँडिएको थियो । यो ठुलो कुरा होइन, साझा नाम राख्दा केही बिग्रँदैन । 

एउटा जात र व्यक्तिको पहिचानले सबै समेटिँदैन । बहुजाती बहुभाषिक नेपाली हौँ, एकअर्काको भाषा, संस्कृति, जातिलाई सम्मान गरौँ, त्यो पहिचान हो ।”  अध्यक्ष ओलीले चुनावअघि इलामको विकासको जिम्मा लिने प्रतिबद्धता जनाएको आफूलाई स्मरण रहेको र त्यो पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

‘त्यो देश विकासका लागि बोलेको कुरा हो । त्यसका लागि काम सुरु गर्छु’ उहाँले भन्नुभयो, “४८ सालको विजयी सभामा मैले भनेको थिएँ । त्यही कुरा सुहाङले बाचा गर्नुभयो इलामेली जनताको शिर झुक्न दिने छैन । सुहाङको पछाडि एमाले छ, म छु ।”


निर्वाचनताका सुहाङलाई विपक्षी नेताहरूले ‘राजाको छोरो’ भनेर टिप्पणी गरेकोप्रति उहाँले गुनासो गर्नुभयो । ‘बाघको छोरो बाघ नभएर स्यालको छोरो बाघ हुन्छ त ?’ जिज्ञासा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “सुवासको अभावमा देशलाई परेको चोट निको पार्न, परिवारमा परेको चोट, इलामका मतदाता, जनताका परेको चोटमा मल्हम पट्टी लगाउन सुहाङलाई उम्मेदवार बनाएका हौँ, राजाको छोरा बनाउन होइन ।”  

देशको हितका लागि विकासका लागि भविष्यमा विभिन्न पार्टीसँग सहकार्य हुन सक्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले इलाम –२ को उपनिर्वाचन सम्पन्न गर्न लाग्नुभएका इलामेली जनता, सुरक्षा निकाय, निर्वाचन आयोग, कर्मचारी, सञ्चारकर्मीलगायत सबैलाई धन्यवाद दिनुभयो ।