• ८ जेठ २०८१, मङ्गलबार

एम्बुलेन्स र स्कुल बस हस्तान्तरण

blog

महादेश माविलाई बस हस्तान्तरण । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, वैशाख १८ गते । चङ्खेली गाउँपालिकाले विद्यालय र स्वास्थ चौकीलाई बस र एम्बुलेन्स हस्तान्तरण गरेको छ । केही समय अगाडि भारतीय दूतावासबाट गाउँपालिकाले सहयोगस्वरुप पाएको ती यातायातका साधन विद्यालय र स्वास्थ्य चौकीलाई उपलब्ध गराएको हो ।

गाउँपालिका अध्यक्ष पारीलाल शाहीले भारतीय दूतावासबाट गाउँपालिकाले सहयोगस्वरुप पाएका ती सवारी साधन विद्यालय र स्वास्थ्य चौकीलाई सञ्चालनका लागि प्रदान गरिएको बताउनुभयो । बस उक्त गाउँपालिका– २ को महादेव माध्यामिक विद्यालय दार्मालाई र एम्बुलेन्स वडा नम्बर २ कै दार्मा स्वास्थ्य चौकीलाई प्रदान गरिएको छ । 

हाल महादेव माविमा अध्ययनरत विद्यार्थीहरु एकदेखि डेढ घण्टा पैदल हिँडेर विद्यालयमा जाने गर्छन् । विद्यालयले बस सहयोग पाएपछि अब बिद्यार्थीहरुले त्यसरी हिँडेर जानु नपर्ने भएको छ । चङ्खेलीका छ मध्ये वडा नम्बर ५ बाहेक अन्य वडामा सडक निर्माण कार्य भएर हाल निजी यातायातका साधन सञ्चालन भइरहेका छन् । आफ्नै बस सेवा प्रदान गर्ने उक्त विद्यालय जिल्लाकै पहिलो भएको छ । 

 हालसम्म उक्त गाउँपालिकामा एम्बुलेन्स थिएन । गाउँपालिकाभर बिरामी भए सडक नपुगेको बस्तीबाट मानिसले बोक्ने र स्टेचरमा बोक्नुपर्ने अवस्था छ भने सडक सञ्जाल जोडिएका बस्तीमा पनि निजी गाडी रिजर्भ गर्नुपरिरहेको थियो । उहाँले स्वास्थ्य चौकीलाई एम्बुलेन्स दिइएको भए पनि छ वटै वडाका स्थानीय बिरामी भए सेवा प्रदान गरिने बताउनुभयो । विद्यालय र स्वास्थ्य चौकीले अब सञ्चालन कार्यविधि निर्माण गरेर सेवा प्रदान गर्ने जनाएका छन् ।