• ८ जेठ २०८१, मङ्गलबार

दुई देशको मेला व्यापार प्रवर्धन गर्ने औजार

blog

काठमाडौँ, वैशाख १८ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदरप्रसाद भण्डारीले व्यापार मेला दुई देशबिच व्यापार प्रवर्धन गर्ने औजारका रूपमा रहने बताउनुभएको छ । 

व्यापार तथा निकासी प्रवर्धन केन्द्रको आयोजनामा भृकुटीमण्डपमा सोमबारदेखि सुरु भएको १७ औँ नेपाल चीन (तिब्बत) आर्थिक तथा व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री भण्डारीले चीनको स्वशासित क्षेत्र तिब्बतबिचको सांस्कृतिक सम्बन्धलाई हिमालयको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सदुपयोग गर्ने हाम्रा व्यवसायीका कारण द्विपक्षीय आर्थिक सम्बन्ध विस्तार हुँदै जाने बताउनुभएको हो ।  

व्यापार मेला दुई देशबिच व्यापार प्रवर्धन गर्ने महत्वपूर्ण औजारका रूपमा रहने उल्लेख गर्दै उहाँले भन्नुभयो, “म आशा गर्दछु कि यस प्रकारका व्यापार मेलाले पनि हामी दुई छिमेकी देशबिच व्यापार वृद्धि गर्न सहयोगी हुने छ र व्यापारी समुदायलाई नयाँ क्रेता, नयाँ बजार र नयाँ व्यापार गन्तव्य पहिल्याउन फाइदायोग्य हुने छ ।”

नेपाल र चीन इतिहासको लामो कालखण्डदेखि नै नजिकको व्यावसायिक सहयात्री रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले उच्च हिमालय र कठिन भौगोलिक अवस्थिति नेपाल–चीन व्यापारमा कहिले पनि बाधाका रूपमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा पुर्खाहरूले यी बाधालाई हिमालय वारपार द्विपक्षीय व्यापार अभिवृद्धि गर्ने अवसरका रूपमा लिए त्यस कठिन समयमा जतिबेला यातायातका आधुनिक साधन उपलब्ध थिएनन् ।”

नेपाल र चीन सदैव सुख दुःखमा साथ दिने अनन्य मित्रका रूपमा रहेको चर्चा गर्दै मन्त्री भण्डारीले चीनको स्थायित्व, एकता र समृद्धि सदैव नेपालको अन्तरमनको चाहना रहँदै आएको उहाँको भनाइ छ ।

रेलवे सञ्जालबाट चीनको मुख्य भूमि चीन र तिब्बत जोडिएको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यहाँ बढिरहेको आर्थिक गतिविधि र प्रगतिबाट रेलवे नेटवर्कले भविष्यमा हिमालयलाई पार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले चीनसँग नेपालको व्यापार घाटा बढ्दै गइरहेको सन्दर्भमा त्यहाँको बजारलाई हेरी चिनियाँ लगानी औद्योगिक उत्पादनको विकास र विस्तार गर्न सकिने तथा यसबाट द्विपक्षीय व्यापार अभिवृद्धि हुँदै नेपालको निर्यात मुख्य भूमि चीन र तिब्बतमा बढ्न सक्ने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा तिब्बत सरकारका उपप्रमुख लान फुकुआनले नेपाल र तिब्बतबिचको व्यापारिक सम्बन्धमा जोड दिनुभयो । उहाँले दुई देशका व्यवायीबिचमा असल व्यापारिक सम्बन्ध बनाएर आयात तथा निर्यातमा सहकार्य गर्न सुझाउनुभयो ।

वाणिज्य मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले निर्यात व्यवस्थित गर्न सके दुई देशबिचको व्यापार सम्बन्धले गति लिने बताउनुभयो । चीनसितको नेपालको व्यापार घाटा कम गर्न चिनियाँ लगानीकर्तालाई निर्यातजन्य वस्तु उत्पादन गर्ने उद्योग यहाँ स्थापना गर्न सचिव घिमिरेले आग्रह गर्नुभयो ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक शरद्विक्रम राणाले यसअघि नेपाल र चीन (तिब्बत) बिचको १९९० को समझदारीपत्र बमोजिम नेपाल र चीन (तिब्बत) बिच आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप विस्तार गर्ने उद्देश्यले नेपाल तिब्बत आर्थिक तथा व्यापार मेलाको आलोपालो रूपमा मेला लगाइँदै आएको बताउनुभयो ।

शून्य भन्सार दरको सहुलियत व्यवस्थाबाट नेपाली निर्यातकर्ताले यस मेलाको अवसर पारेर चीनमा आफ्ना वस्तु निर्यात गर्ने महत्वपूर्ण अवसरका रूपमा यस मेलालाई उपयोग गर्ने र आफ्नो व्यापार प्रवर्धन गर्न तिब्बतमा रहेका व्यापारिक समुदायसँग फलदायी कारोबार गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पाँच दिनसम्म सञ्चालन हुने मेलामा चीनको स्वशासित क्षेत्रको तर्फबाट ५० वटा स्टल राखिएको छ । यस्तै नेपाल तर्फबाट १५ वटा स्टल राखिएको छ । मेलामा चीनको स्वशासित क्षेत्र तिब्बतका स्टलहरूमा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरणहरू, घरायसी प्रयोगका साधन, कार्पेट, पेय पदार्थ, परम्परागत हस्तकलाका सामान, परम्परागत धूप, विद्युतीय सवारीसाधन, सौन्दर्य प्रसाधनका अतिरिक्त विभिन्न व्यापारिक कम्पनीका सहभागिता रहेको कम्पनीले जनाएको छ ।  यसैबिच नेपाल र तिब्बतका कम्पनीबिच पशुजन्य खाद्यपदार्थ, कृषिजन्य उत्पादन र बायो फर्टिलाइजरलगायतका विषयमा व्यापार विस्तार गर्ने सहमति भएको छ । 

यस्तै नेपाली स्टलमा जडीबुटी, सारयुक्त सुगन्धित तेल, कफी, चिया, हस्तकलाका/काष्ठकला, धातुकला, कार्पेट, पस्मिनालगायतका विभिन्न कम्पनीका उत्पादनहरू प्रदर्शनीमा राखिएको छ । मेलाको अवसरमा दुई पक्षबिच बिटुबी र जिटुजीलगायतका व्यावसायिक मिटिङसमेत हुने छ । वैशाख २१ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।