• २७ वैशाख २०८१, बिहिबार

महिला हक्कीमा आर्मीको विजयी सुरुवात

blog

हक्कीको पहिलो दिन प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, वैशाख १५ गते । छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

धुलिखेल खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३-० गोलले हरायो । आर्मीको जितमा सिमा खड्काले २१औँ, डम्मरा भट्टले ५०औँ र सरस्वती तामाङले ५६औँ मिनेटगोल गर्नुभयो । जितसँगै आर्मीले तीन अङ्क बनाएको छ । 


दोस्रो खेलमा लुम्बिनी प्रदेशले अग्रता जोगाउन नसक्दा मधेस प्रदेशसँग १-१ गोलको बराबरी खेलेको छ । लुम्बिनीका लागि अनन्या बड्नवालले सातौँ मिनेटमा गोल गर्नुभयो । मधेसका लागि ४०औँ मिनेटमा बराबरी गोल फर्काउनुभयो । बराबरीसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । 

नेपाल हक्की सङ्घले आयोजना गरेको प्रतियोगितामा आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ ।


प्रतियोगितामा पहिलो हुने टोलीले एक लाख, उपविजेताले ७५  हजार र तेस्रो हुनेले ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई पाँच हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीलाई जनही १० हजार रुपियाँबाट पुरस्कृत गरिने सङ्घले जनाएको छ ।

प्रतियोगिताको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जु, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, नासा नेपालका निर्देशक गोविन्द भट्टराईलगायतले उद्घाटन गर्नुभयो ।