• २७ वैशाख २०८१, बिहिबार

वराहक्षेत्र तपोभूमि हो : अध्यक्ष ओली

blog

चतराधाम कुम्भ मेलामा एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र, वैशाख १५ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वराहक्षेत्र देवभूमि, पून्यभूमि, तपोभूमि र ज्ञानभूमि भएको बताउनुभएको छ । 

शनिवार दिउँसो सुनसरीको चतराधाम कुम्भ मेलामा आउनुभएका अध्यक्ष ओलीले धार्मिक सभामा बोल्दै सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “कोशी क्षेत्र सप्तऋषिहरुले तपस्या गरेको भूमि भएकाले यो पवित्र भूमि हो । यो भूमि धार्मिक इतिहाससँग जोडिएको छ ।” 

उहाँले कोशी क्षेत्र ब्रह्मा ऋषि विश्वमित्रले वेदका सूत्रहरूको रचना गरेको भूमिसमेत भएको बताउनुभयो । वेदका रचनाहरू समेत यही कोशी किनारमा भएको बताउँदै विश्वमित्रले रचना गरेको गायत्री मन्त्र चतराको कोशी किनारमै रचना गरिएको ओलीले बताउनुभयो । 

ओलीले जगत्गुरु बालसन्त मोहन शरण देवाचार्यलाई अगाडि राखेर चतराधामलाई चिनाउने धार्मिक कुराहरूको व्याख्या गर्नुभएको थियो । जगत्गुरु मोहनशरण देवाचार्यले कुम्भको सबै स्वामित्व सरकारले लिनुपर्ने बताउनुभएको छ । 


कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, शेरधन राईको उपस्थिति रहेको थियो । कुम्भ मेलाको उन्नाइसौँ दिन आज कुम्भ स्नान गर्न कुम्भ नगरी चतराधाममा एकै दिन चार लाखभन्दा बढी भक्तजनले कौशीकि नदीमा स्नान गरेका छन् । 

आजसम्म कुम्भ मेलामा करिब १२ लाखभन्दा बढी भक्तजनले कुम्भ स्नान गरेको आयोजकले जनाएको छ । चैत २७ गते सरूँ भएको पूर्ण महाकुम्भ मेला वैशाख २८ गतेसम्म चल्नेछ ।