• २६ वैशाख २०८१, बुधबार

डढेलोले ६ घर र ६ मतान जलेर नष्ट

blog

फाइल तस्विर

राजकुमार भट्टराई 

खोटाङ, वैशाख १५ गते । वनमा लागेको डढेलो गाउँ पस्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका –९ सल्लेका ६ वटा घर र ६ वटा मतान जलेर नष्ट भएको छ । शुक्रबार दिउँसो सल्ले पोखरी पाखा सामुदायिक वनमा लागेको डढेलोले सल्ले मगर गाउँका घर र मतानहरु जलेर खरानी भएका हुन् ।

डढेलोले मदनकुमार थापा, खगेन्द्र विक, गोपालबहादुर थापा, इन्द्रबहादुर थापा र झनबहादुर थापाको घर र मतान जलेर नष्ट भएको छ । भेषबहादुर रानाको घर र योगबहादुर रानाको मतान जलेर खरानी भएको सल्लेका वडाध्यक्ष काशीराज राईले बताउनुभयो । वडाध्यक्ष राईका अनुसार मंगलटारका वनहरूमा डढेलो देखिएको थियो । 

दिउँसो सल्ले पोखरी पाखा सामुदायिक वनमा पनि डढेलो सुरु भएको छ । सामुदायिक वनमा लागेको डढेलोको झिल्को हावाले उडाएर गाउँमा ल्याउँदा घर र मतानहरुमा आगलागी भएको उहाँको भनाइ छ । 

घरमा आगलागी भएको जानकारी आएलगत्तै इलाका प्रहरी कार्यालय महादेवस्थान र प्रहरी चौकी अर्खौलेबाट प्रहरीहरू आगो नियन्त्रणमा खटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्काले बताउनुभयो । 

तीन दिनअघि मात्र बाराहपोखरी गाउँपालिका –१ बाराहपोखरीमा डढेलोले १३ घर र ७ वटा मतान, हलेसी तुवाचुङ नगरपालिका –४ बडहरेका २ घर खरानी भएको थियो । रावा बेसीमा एक वृद्धको डढेर मृत्यु भएको थियो ।