• २६ वैशाख २०८१, बुधबार

बझाङमा मतदान सुरु

blog

बझाङ सदरमुकाम चैनपुरस्थित सत्यवादी माध्यमिक विद्यालय भोपुरमा सुरु भएको मतदान । तस्बिर सौजन्य: नियोक

प्रकाशविक्रम शाह

धनगढी, वैशाख १५ गते । बझाङका (१ ) मा निर्धारित समय अनुसार आज बिहान ७ बजे मतदान सुरु भएको छ । उपनिर्वाचन हुने प्रदेश सभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले बताउनुभयो ।

सो क्षेत्रको चुनावमा सात वटा पालिका ४९ र थलारा गाउँपालिकाको वडा नम्बर ९ सहित ५० वडाका मतदाता सहभागी हुने छन् । सात वटा पालिकामा जय पृथ्वी नगरपालिका ११, मष्टा ७, तलकोट ७, साइपाल ५, सुर्मा ५, छविसपाथिभरा ७, खप्तड छान्ना गाउँपालिकामा ७ वडा रहेका छन् । प्रहरी प्रमुख शाहले ६१ हजार ७४८ मतदाता रहेको सो क्षेत्रमा ६० प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएको बताउनुभयो । 

मतदान शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली खटिएको प्रहरी नायव उपरीक्षक शाहले बताउनुभयो । उहाँका अनुसार शनिवार नै सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम चैनपुर ल्याइने छ । साइपाल गाउँपालिका लगायतका विकट क्षेत्रबाट भने मतपेटिका हेलिकोप्टरबाट ल्याइने भएको छ ।

सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएको पछि सो क्षेत्रमा उपनिर्वाचन हुन थालेको हो । ११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट मुख्य दलहरू क्रमशः नेपाली कांग्रेसले स्व. सिंहको जेठा छोरा अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमन भण्डारी, नेकपा (माओवादी केन्द्र ) का जनक बुढा र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।