• २२ वैशाख २०८१, शनिबार

कर्णालीमा औलो सङ्क्रमणको जोखिम घट्दै

blog

नवीन सुवेदी

सुर्खेत, वैशाख १३ गते । कर्णाली प्रदेशमा औलोको जोखिम विगत चार वर्षको तथ्याङ्कलाई हेर्ने हो भने घटेको पाइएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को फागुन मसान्तसम्म आइपुग्दा आयातित र स्थानीय औलो सङ्क्रमणको जोखिम घट्दै गएको पाइएको हो । 

आर्थिक वर्ष २०७६–७७ देखिको तथ्याङ्कमा कर्णालीका सात जिल्लामा औलोका पोजेटिभ बिरामी भेटिएकोमा चालु आर्थिक वर्षमा आइपुग्दा चार जिल्लामा औलो सीमित भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जानकारी दिएको छ ।

निर्देशनालयकाे तथ्याङ्क अनुसार मुगु, हुम्ला, कालीकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत र सल्यानमा औलोका बिरामी रहेकोमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा चार जिल्ला सुर्खेत, कालीकोट, हुम्ला र मुगुमा मात्रै औलो पोजेटिभ देखिएको छ । जिल्लागत तथ्याङ्क अनुसार हाल हुम्ला र कालीकोटमा एक÷एक, सुर्खेतमा २० र मुगुमा दुई गरी जम्मा २४ जनामा स्थानीय तथा आयातित औलो सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा प्रदेशभर स्थानीय औलो सङ्क्रमण पोजेटिभ एक जनामा मात्रै देखिएको छ । 

दोस्रो स्थानबाट आएको भन्दा स्थानीय स्तरमै फैलिने सङ्क्रमणलाई जोखिम मान्ने गरिन्छ । यस्तै, कर्णालीका दुई जिल्ला हुम्ला र कालीकोटका चार वडा भने स्थानीय औलोको उच्च जोखिममा रहेको निर्देशनालयका फोकल पर्सन श्यामलाल आचार्यले जानकारी दिनुभयो । जसमा हुम्लाको अदानचुली गाउँपालिकाका वडा नम्बर २, ३ र ४ र कालीकोटको खाँडाचक्र नगरपालिकाको २ नम्बर वडा छन्। 

यस्तै, मध्यम जोखिम भएका वडामा हुम्लाको अदानचुली वडा नम्बर २ र ३, चंखेली गाउँपालिका वडा नम्बर २, ताजाकोट गाउँपालिका वडा नम्बर १, मुगुको सोरु गाउँपालिका वडा नम्बर ४ र ५, खत्याड गाउँपालिका र सुर्खेतको भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिका रहेको उहाँले बताउनुभयो ।  

प्रदेशभर चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३६ हजार ६ सय १३ जनामा मलेरियाको माइक्रोस्कोपी र आरडीटी दुवै जाँच गरिएको निर्देशनालयले जनाएको छ । कर्णालीमा औलो निवारणका लागि सरकारी स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निःशुल्क उपलब्ध हुने स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताउनुभयो ।