• २२ वैशाख २०८१, शनिबार

‘१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धि प्राथमिकतामा पर्नुपर्छ’

blog

पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का नेता डा. युवराज खतिवडा । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १३ गते । पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का नेता डा. युवराज खतिवडाले आर्थिक समृद्धिका आधारभूत तत्त्वलाई पहिलो प्राथमिकतामा राखेर १६ औँ पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिनुभएको छ । बिहीबार काठमाडौँमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले भ्रष्टाचार न्यूनीकरणलाई पहिलो प्राथमिकतामा दिनुले विश्वमा गलत सन्देश जाने भन्दै सुशासनका कुरालाई जोड दिन र आर्थिक समृद्धिका कुरामा बढी आवश्यक रहेको बताउनुभयो । उहाँले निरन्तर ५ प्रतिशतभन्दा माथि १० वर्ष हासिल गर्ने हो भने गरिबी १० प्रतिशत घट्ने दाबी गर्नुभयो । कम लगानीबाट बढी प्रतिफल लिने बाटोमा जाने कुरामा ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले संविधानमा लेखिएको समाजवाद उन्मुख राज्यप्रणाली निर्माणको आधार तयार गर्ने कुरा योजनामा समावेश गर्न केले रोकेको हो ? प्रश्न गर्नुभयो । समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको साझा एजेण्डा भएको उहाँले चर्चा गर्नुभयो । 

उहाँले बजेटमा समाजवादउन्मुख राज्य प्रणाली भनेर लेख्ने तर पञ्चवर्षीय योजनामा चर्चा नै नगर्ने हो भने पहिलो चरणमा योजनाभन्दा फरक बजेट बन्ने बताउनुभयो । उहाँले संविधानले आत्मसाथ गरेका विषयहरू, त्यहाँ भित्रका मौलिक हक, राज्यका सिद्धान्तलाई राम्रो र खुलेर समावेश गरेर जानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो योजना तर्जुमा गरिरहँदा मैले यसअघि पनि भनेका थिएँ, हामीलाई हाम्रो संविधानले नै भनेको हामी सबैले स्वीकारेको, संविधानमा लेखिएको समाजवादउन्मुख राज्यप्रणाली निर्माणको आधार तयार गर्नेछौँ भन्नेकुरा लेख्नलाई केले छेक्यो ?’ 

‘हामीले संविधानमा जे—जे प्रण गरेका छौँ, त्यसलाई कार्यान्वयन गर्ने आवधिक योजना यही १६ औँ योजना हो । अब यसलाई अङ्कमा ढालेर लक्ष्य समेत राम्रोसँग तोकेर जाने मध्यकालीन खर्च योजना र वार्षिक योजना बन्छ ।

वार्षिक बजेट एक वर्षको बन्छ’ उहाँले थप्नुभयो, “हाम्रो संविधानले आत्मसाथ गरेका विषयलाई, त्यहाँ भित्रका मौलिक हक, राज्यका सिद्धान्तलाई राम्रो र खुलेर समावेश गरेर जाऔँ ।” पूर्व अर्थमन्त्री डा. खतिवडाले देशको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार रहेको बताउनुभयो ।