• ५ जेठ २०८१, शनिबार

आरन व्यवसायबाट राम्रो आम्दानी

blog

आरन व्यवसाय गर्दै आउनुभएका सुकलाल विश्वकर्मा । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, वैशाख २२ गते । 
पछिल्लो समय आरन व्यवसायमा आबद्ध भएका बिरलै भेटिन्छन् । कुनै समय दलित समुदायको पहिचानका रूपमा रहेको आरन पेसाप्रति पछिल्लो पुस्ताको आकर्षण छैन ।

वैदेशिक रोजगारसँगै पेसाप्रति सम्मान नभएको भन्दै युवापुस्ता आरन पेसामा नलाग्दा पुर्ख्यौली पेसा ओझेलमा पर्दै आएको छ । आरन पेसामा मेहनत अनुसारको आम्दानी नहुँदा नयाँ पुस्ता विदेश पलायन भइरहेको समयमा राजपुर गाउँपालिका–२ बेला निवासी ६० वर्षीय सुकलाल विश्वकर्मा भने आफ्नै ठाउँमा राम्रो कमाई गर्दै आउनुभएको छ ।

आफ्नो पुर्ख्यौली पेसाप्रतिको प्रेम र घरबार धान्न यो पेसाबाट उहाँ अलग हुन सक्नुभएको छैन । विगत पाँच दशकदेखि गाउँमै आरन व्यवसाय गर्दै आउनुभएका विश्वकर्माका लागि गाउँमा सेवासँगै आयस्रोतको बलियो आधार पनि बनिदिएको छ । विश्वकर्मा भन्नुहुन्छ, ‘‘गाउँमा पहिले दुईतीन घर परिवारले आरनको काम गर्ने गरेपनि पछिल्लो समय म एक्लै गर्दै आएको छु । एक्लैले धेरै काम गर्दा पनि होला, मासिक ६० हजारसम्म कमाइ भइरहेको छ ।’’

विश्वकर्माले पहिला घरघर पुगेर भाँडा पिट्ने काम गर्नुहुन्थ्यो । यसो गरेवापतको ज्याला उहाँले वर्षमा एक पटक अन्नपात पाउँनुहुन्थ्योे । यसरी घरघर जाँदा उहाँको आम्दानी कम हुन्थ्यो । पछिल्लो समय घरघरमै गएर काम गर्नुभन्दा आफ्नै घरमै बसेर आरन व्यवसाय चलाउँदै आउनुभएका विश्वकर्माले मनग्य आर्थिक लाभ लिइरहनुभएको छ । उहाँले भन्नुभयो, ‘‘पहिले घरघरमा गएर भाँडा पिट्ने काम गर्दा उठेको अन्नबालीले घरपरिवार चलाउन धौँ–धौँ हुन्थ्यो । तर अहिले घरमै बसेर भाँडा बनाउने तथा पिट्ने काम गर्दै आएको छु, घरमै काम गर्दा पैसा पनि राम्रै बचत हुने  गरेको छ ।’’ सुकलालले खुकुरी, हँसिया, कुटो, कोदालो, फरुवा, बन्चरो, खुर्पालगायतका घरायसी कृषि औजार बनाउनुका साथै पुराना भाँडालाई पिटेर धार लगाउने काम गर्दै आउनुभएको छ ।

त्यसो सुकलाल छिमेकीका लागि मात्र हतियार बनाउने र पुराना भाडामा धार लगाउने मात्र होइन, आफ्नै ‘ब्राण्ड’ समेत स्थापित गर्नुभएको छ । उहाँले ‘बेला’ नामक खुकुरीको आफ्नै ब्रान्ड स्थापित गर्नुभएको छ । उहाँले बनाएका खुकुरी दाङका विभिन्न बजारसँगै सल्यान, रोल्पा र प्युठानसम्म जाने गरेको उहाँ बताउनुहुन्छ । सुकलाल आफूले बनाएको एउटा खुकुरी पाँच हजारदेखि २० हजार रुपियाँसम्ममा बिक्री हुने गरेको बताउनुहुन्छ । यसैगरी अन्य सामग्री पनि एक सयदेखि एक हजार रुपियाँसम्ममा बिक्री हुने गरेको बताउँछन् ।

आगोको ताप र रापले गर्दा आरन पेसामा दुःख बढी हुने भए पनि पुर्ख्यौली पेसाको संरक्षणसँगै राम्रो आम्दानी हुने भएपछि निरन्तर काम गर्दै आएको उहाँको भनाइ छ । पहिले सामान्य रूपमा घरपरिवार पाल्न मात्र आरन पेसा गरेपनि पछिल्लो समय स्थानीय तहले समेत सहयोग गरेपछि सुखी लागेको उहाँ बताउनुहुन्छ ।

सुकलाललाई आरनका लागि राजपुर गाउँपालिकाले आधुनिक उपकरण सहयोग गरेको छ । गाउँपालिकाले मेसिन सहयोग गरेपछि काम गर्न सजिलो भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘पहिले त निकै गाह्रो हुन्थ्यो, कोइला फुक्नु पर्थ्यो तर अहिले गाउँपालिकाबाट बिजुलीबाट चल्ने मेसिन पाएको छु, यो मेसिनले गर्दा दुःख कम हुन्छ ।’’ बढ्दो उमेरसँगै कोइलाका लागि जङ्गल जानुपर्ने बाध्यता र वनमा रुख काट्न नपाइने भएकाले काम गर्न भने केही समस्या भएको उहाँको गुनासो छ ।

उहाँले भन्नुभयो, ‘‘आरन पेसा गर्नेले छोड्दै जाँदा एक्लै भएकाले पनि आम्दानी चाहिँ बढेको छ । तर काम गर्न धेरै दुःख छ । जङ्गलमा गएर रुख काटी जलाएर कोइला बनाउनुपर्छ तर सामुदायिक वनका मान्छेले काठ काट्न नदिँदा अहिले कोइला पाउनै समस्या छ ।’’