• २२ वैशाख २०८१, शनिबार

सिँचाइ योजना अलपत्र, खेतीयोग्य जमिन बाँझो

blog

सिँचाइ योजना अलपत्र पर्दा बाँझो रहेको खेतीयोग्य जमिन । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, वैशाख १३ गते । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले सञ्चालन गरेको सिँचाइ योजना अलपत्र परेपछि किसान खेतीयोग्य जमिन बाँझो राख्न बाध्य भएका छन् । सिगास गाउँपालिका–१, स्यापागैर सिँचाइ योजना विगत चार वर्षदेखि अलपत्र परेको छ । सो कार्यालयले निर्माण सुरु गरेको योजना पूरा नहुँदा अधिकांश जमिन बाँझो भएको छ । 

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा २० लाख रुपियाँमध्ये १३ लाख रुपियाँ खर्च गरेर योजना सुरु गरेको हो । तर २०८१ साल आइसक्दासम्म योजना पूरा हुने/नहुने टुङ्गो लाग्न सकेको छैन । सिँचाइका लागि खरिद गरिएका पाइप जङ्गलमा अलपत्र छन्, केही पाइप आगोले पोलिएका छन् । 

सिँचाइ योजना निर्माण सुरु भएपछि खुसी भएका स्थानीयवासी योजना अलपत्र पर्दा दुःखी बनेका छन् । दुर्गम गाउँमा आएको सिँचाइ योजना अलपत्र पर्दा स्थानीयले सास्ती भोग्नु परेको लोकेन्द्र ऐरीले बताउनुभयो । कोरोनालगायत विभिन्न विपत्का कारणले आ.व. २०७७/७८ मा आएको थप १५ लाख रुपियाँसमेत फ्रिज भएको स्थानीय उपभोक्ता ऐरीले बताउनुभयो । उहाँले योजनाको डिजाइन स्टिमेटमा मुहानमा ९० सेन्टिमिटरको पाइप राख्ने भनिए पनि हिउँदमा पानी घटेर ४० सेन्टिमिटरभन्दा कम भएपछि योजना पूरा हुन नसकेको बताउनुभयो । स्यापागैर मुहानमा बर्खामा बढी पानी र हिउँदमा घट्ने गरेको छ । पाइपका कारण पानी नचढेको स्थानीयले बताएका छन् । सिँचाइ योजना पूरा हुन सके गाउँमा खानेपानीको समस्यासमेत समाधान हुने देखिएको छ ।

गाउँ वरपर रहेको पानीका मुहान सुकेपछि स्थानीय भूमिराज आधारभूत विद्यालयको दिवा खाजा पकाउन धेरै टाढाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको सो विद्यालयले जनाएको छ । पछिल्लो समय गाउँमा खानेपानीका मुहानसमेत सुक्दै गएका छन् । 

यहाँको प्रत्येक गाउँमा पिउने पानीको समेत हाहाकार भएको स्थानीय जगदीश भट्टले बताउनुभयो । अलपत्र परेको सिँचाइ योजनाका विषयमा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय प्रमुख डम्बरप्रसाद धितालले सिँचाइ योजनाका सम्बन्धमा उपभोक्तासँग छलफल गरेर अघि बढ्ने बताउनुभयो ।