• २४ वैशाख २०८१, सोमबार

तनहुँमा खुला व्यायामशाला निर्माण कार्य सुरु

blog

फाइल तस्बिर

तनहुँ, वैशाख १२ गते । जिल्लाको व्यास नगरपालिका-३ देउराली नगरस्थित सेतीमादी सामुदायिक वन परिसर क्षेत्रमा खुला व्यायामशाला निर्माण सुरु गरिएको छ । नागरिकलाई स्वस्थ राख्न बिहान र बेलुकाको समयमा कसरत गर्न सहज बनाउने उद्देश्यले व्यायामशाला निर्माण गर्न लागिएको हो । 

व्यास नगरपालिका-३ नम्बर वडा कार्यालयले व्यायामशालाका लागि चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेको वडा सदस्य दधिराज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार लेग प्रेस, सेट अफ बोर्ड, सिटिनिङ ट्वीस्टर, डबल स्किनिङलगायत सोह्र किसिमका व्यायाम सामग्री खरिद गरी ल्याइसकिएको छ । सेती र मादी नदीको संगमस्थल क्षेत्रमा बिहान र बेलुकाका समयमा सयौँ मानिसले पैदल हिँड्ने र शारीरिक अभ्यास गर्दै आएका छन् । 

व्यायामशाला क्षेत्रलाई तारबार गरी संरक्षण गरिनुका साथै सिसी क्यामेरा जडान र बिमा गर्ने योजना रहेको वडाध्यक्ष अनुप रानाले बताउनुभयो । “चाँडै व्यायामशाला सञ्चालनमा ल्याउने गरी निर्माण कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “व्यायामशाला कुनै शुल्क लाग्दैन, जो व्यक्ति गएर पनि व्यायाम गर्न सक्ने छन् ।” उक्त मेसिन स्वचालित नभई व्यक्ति आफैँले चलाउनुपर्ने किसिमका रहेको सो वडा कार्यालयले जनाएको छ । 

वडाद्वारा नाला सफाइ 

त्यसै गरी वडा कार्यालयले यस वर्ष नौ सय २२ मिटर नाला सफाइ गरेको छ । उक्त वडामा रहेका नौ वटा टोल विकास संस्थामध्ये यस वर्ष चार वटा टोल क्षेत्रमा नाला सफाइ गरिएको हो । यस वर्ष तरकारी लाइन, सत्यवती परिसर मार्ग, शान्तिनगर र देउराली नगर क्षेत्रका नालामा सफाइ गरिएको वडा सदस्य घिमिरेले जानकारी दिनुभयो । 

नाला जाम भएर, दुर्गन्ध बढेको गुनासो वडामा आएपछि वडाले बजेट विनियोजन गरी उपभोक्ता समितिमार्फत काम गराइएको उहाँले बताउनुभयो । व्यास नगरपालिकाको सेफ्टी टयाङ्कीमार्फत् नालामा जम्मा भएको दूषित पानी तानेर फालिएको र अरू ठोस वस्तु भएको फोहर उपभोक्ता समितिमार्फत काम कामदार लगाएर व्यवस्थापन गरिएको छ । व्यास नगरपालिकाबाट नाला सरसफाइका लागि तीन लाख विनियोजन गरिएको थियो । रासस