• २४ वैशाख २०८१, सोमबार

मङ्गलाघाट बजार संरक्षण गर्न तटबन्ध

blog

बेनी समाचारदाता 

म्याग्दी (बेनी), वैशाख १२ गते । म्याग्दी नदीको कटानबाट जोखिममा परेका सरकारी कार्यालय र बेनी नगरपालिका–८ को मङ्गलाघाट बजार संरक्षणका लागि पक्की तटबन्ध निर्माण गरिएको छ । गत वर्षदेखि थालिएको तटबन्ध निर्माण योजनाको काम अन्तिम चरणमा पुगेको छ ।  

जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतको रूपा ताल संरक्षण एकीकृत विकास परियोजना पोखराले मङ्गलाघाटको बस्ती र जिल्लाका सरकारी कार्यालयहरूको संरक्षण गर्न करिब १० करोड रुपियाँभन्दा बढीको लागतमा म्याग्दी नदी किनारमा कम्पोजिट पर्खाल बनाउने योजना थालेको थियो । म्याग्दी नदीको कटानबाट मङ्गलाघाट क्षेत्रमा रहेका अधिकांश सरकारी कार्यालय र निजी घरहरू जोखिममा परेका थिए । म्याग्दी नदी कटानको उच्च जोखिममा रहेका क्षेत्र डिभिजन वन कार्यालयदेखि माथि मङ्गलाघाट बजारसम्म २६२ मिटर दुरीको कम्पोजिट पर्खाल निर्माण गर्न लागिएको हो । 

मङ्गलाघाट बजार क्षेत्रमा म्याग्दी नदीको किनारमा दुई वटा प्याकेज गरेर करिब २६२ मिटर लम्बाइ भएको कम्पोजिट पर्खाल निर्माण गर्ने योजना अन्तिम चरणमा पुगेको रूपा ताल संरक्षण एकीकृत विकास परियोजना पोखराका इन्जिनियर नरजङ्ग गुरुङले बताउनुभयो । पहिलो प्याकेजको १२० मिटर लम्बाइ भएको कम्पोजिट पर्खाल निर्माण गर्न पाँच करोड तीन लाख ८९ हजार रुपियाँमा २०८१ चैत १० गतेभित्र सम्पन्न गर्ने गरी २०७९ फागुन २९ गते ठेक्का सम्झौता भएको थियो । यसै गरी दोस्रो प्याकेजको १४२ मिटर कम्पोजिट पर्खाल निर्माण गर्न चार करोड ५८ लाख १० हजार रुपियाँमा २०८१ फागुन १० गतेभित्र सम्पन्न गर्ने गरी २०७९ फागुन २९ गते ठेक्कासम्झौता भएको थियो  ।

इन्जिनियर गुरुङले भन्नुभयो, “नदी कटानको उच्च जोखिम क्षेत्र भएकाले नयाँ प्रविधिको प्रयोग गरेर पर्खाल निर्माण गरेका छौँ । कङ्क्रिट पर्खाल तीन मिटर उचाइ र चार मिटरको चौडाइमा हुन्छ । पर्खालमाथि चार मिटर उचाइसम्म ग्याबिन जाली लगाई जालीलाई खिया नलागोस् भनेर बाहिरबाट पातलो कङ्क्रिटले छोप्ने काम हुन्छ ।”