• २२ वैशाख २०८१, शनिबार

याङमामा स्वास्थ्य इकाई स्थापना

blog

हिमाली बस्ती याङ्मामा प्रारम्भिक बालविकास केन्द्र र स्वास्थ्य इकाई स्थापना ।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख ११ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको याङ्मामा बाल विकास केन्द्र र सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । 

जिल्लाकै उच्च हिमाली बस्तीको रूपमा रहेको याङ्मामा प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्र र सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो । दुर्गम क्षेत्रअन्तर्गत याङ्माका बासिन्दालाई सुविधा उपलब्ध गराउने उद्देश्यले बालविकास शिक्षा केन्द्र र स्वास्थ्य इकाई स्थापना गरेको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो । 

अध्यक्ष लिम्बूका अनुसार बालविकास केन्द्र र स्वास्थ्य इकाई सञ्चालन गर्न गाउँपालिकाले जनशक्ति व्यवस्थापन गरेको छ । याङ्मामा स्वास्थ्य संस्था नहुँदा त्यहाँका स्थानीयले प्राथमिक स्वास्थ्य उपचार सेवा प्राप्त गर्नलाई एक दिनको पैदल हिँडेर ओलाङ्चुङगोला पुग्नुपर्ने बाध्यता रहेको थियो । 

यस्तै, एक आधारभूत विद्यालय भए पनि शिक्षकको अनियमित उपस्थिति र विद्यार्थी अभावमा केही वर्ष यतादेखि सो विद्यालय बन्द रहेको बताइएको छ । याङ्माका बालबालिका सदरमुकाम फुङ्लिङ, काठमाडौँ र केही भारतको दार्जिलिङसहितका ठाउँमा पढ्ने गरेका स्थानीय ताम्लिङ शेर्पाले बताउनुभयो । 

उहाँकाअनुसार कक्षा १ देखि ५ सम्म पढाई हुने याङ्माको विद्यालयमा विगतमा सात–आठ जनासम्म विद्यार्थी हुने गरेका थिए । अहिले गाउँपालिकाले स्थापना गरेको बाल विकास केन्द्रमा अध्ययन गर्ने दुई जना मात्र बालबालिका गाउँमा रहेका उहाँले जानकारी दिनुभयो ।

चार हजार २०० मिटरको उचाइमा रहेको हिमाली बस्ती याङ्मामा १० घर रहेका छन् ।

याङ्माका बालबालिका पढाइका लागि सहरतिर रहने गरेका छन् भने त्यहाँका बासिन्दा याक र चौंरीपालन पेसामा संलग्न रहँदैआएका छन् । त्यस्तै, याङ्मा बस्तीमा हालसम्म सञ्चारको पहुँच छैन ।