• २२ वैशाख २०८१, शनिबार

बेनीका सरकारी कार्यालय र मंगलाघाट बजार संरक्षण गर्न तटबन्ध

blog

नदी कटानबाट सरकारी कार्यालय र बजारलाई संरक्षण गर्न लगाइएको पर्खाल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख ११ गते ।
 म्याग्दी नदीको कटानबाट जोखिममा परेका सरकारी कार्यालय र बेनी नगरपालिका-७ को मंगलाघाट बजार संरक्षणका लागि पक्की तटबन्ध निर्माण गरिएको छ । गत वर्ष देखि थालिएको तटबन्ध निर्माण योजना काम अन्तिम चरणमा पुगेको छ । 

जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतको रुपताल संरक्षण एकीकृत विकास परियोजना पोखराले मंगलाघाटको बस्ती र जिल्लाका सरकारी कार्यालयहरूको संरक्षण गर्न करिब दश करोड रुपियाँभन्दा बढीको लागतमा म्याग्दी नदी किनारमा कम्पोजिट पर्खाल बनाउने योजना थालेको थियो ।

म्याग्दी नदीको कटानबाट मंगलाघाट क्षेत्रमा रहेका अधिकांश सरकारी कार्यालय र निजी घरहरू जोखिममा परेका थिए । म्याग्दी नदी कटानको उच्च जोखिम रहेको क्षेत्र डिभिजन वन कार्यालयदेखि माथि मंगलाघाट बजारसम्म दुई सय ६२ मिटर दूरीको कम्पोजिट पर्खाल निर्माण गर्न लागिएको हो ।

मंगलाघाट बजार क्षेत्रमा म्याग्दी नदीको किनारमा दुई वटा प्याकेज गरेर करिब दुई सय ६२ मिटर लम्बाइ भएको कम्पोजिट पर्खाल निर्माण गर्ने योजना अन्तिम चरणमा पुगेको रुपताल संरक्षण एकीकृत विकास परियोजना पोखराका इन्जिनियर नरजंग गुरुङले बताउनुभयो ।

पहिलो प्याकेजको एकसय २० मिटर लम्बाई भएको कम्पोजिट पर्खाल निर्माण गर्न पाँच करोड तीन लाख ८९ हजार रुपियाँमा रुपल सुप्रिम कन्ट्रक्सनसँग २०८१ चैत १० गतेभित्र सम्पन्न गर्न २०७९ फागुन २९ गते ठेक्का सम्झौता भएको थियो ।

यसैगरी, दोस्रो प्याकेजको एकसय ४२ मिटर कम्पोजिट पर्खाल निर्माण गर्न चार करोड ५८ लाख दशहजार रुपियाँमा पहिलो प्याकेजकै निर्माण कम्पनीसँग २०८१ फागुन १० गते भित्र सम्पन्न गर्नेगरी २०७९ फागुन २९ गते ठेक्का सम्झौता भएको परियोजना पोखराका इन्जिनियर गुरुङले जानकारी दिनुभयो ।

इन्जिनियर गुरुङले भन्नुभयो, ‘‘नदी कटनको उच्च जोखिम क्षेत्र भएकाले नयाँ प्रविधिको प्रयोग गरेर पर्खाल निर्माण गरेका छौँ । दुईवटै प्याकेजमा नदी किनारमा बगिरहेको पानीदेखि साढे दुईमिटरको गइराईमा जग खनेर कटअफ पर्खाल निर्माण गरिएको छ  । उक्त कङ्क्रिट पर्खाल तीनमिटर उचाइ र चारमिटरको चौढाइमा हुन्छ । पर्खाल माथि चार मिटर उचाइ सम्म ग्यावियन झाली लगाइन्छ ।  ग्यावियन झालीलाई खिया नलागोस् भनेर  बाहिरबाट पातलो कङ्क्रिटले छोप्ने काम हुन्छ  ।’’ कटानको उच्च जोखिम क्षेत्रमा यो प्रविधिको पर्खाल उपयोगी हुने उहाँले बताउनुभयो ।

ठेक्का सम्झौता लगत्तै मजदुर र उपकरण सहित कार्यस्थलमा परिचाल भएको निर्माण व्यवसायीले पर्खाल निर्माणलाई तीव्रता दिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पहिलो प्याकेजको ८५ प्रतिशत र दोस्रो प्याकेजको ७५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।

जोखिम क्षेत्र भएकाले असारभित्रै योजनाको मुख्य काम सम्पन्न गर्ने तयारी गरिएको छ ।  योजनालाई छिटो, छरितो र गुणस्तरीय बनाउन परियोजनाका तर्फबाट अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाइएको उहाँको भनाइ छ ।

चालु आर्थिक वर्षमा म्याग्दी खण्डको तटबन्ध निर्माणका लागि विनियोजन भएको पाँच करोड रुपियाँ परियोजनाले  निर्माण व्यवसायीलाई भुक्तानी गरिसकेको र बाँकी रकम भुक्तानीका लागि यो आर्थिक वर्षमा रकम अभाव भएकाले योजनाको सम्पूर्ण काम सम्पन्न गर्न कठिनाइ भएको परियोजनाका इन्जिनियर गुरुङले बताउनुभयो ।

भुक्तानीका लागि बजेट नभएपनि सानोतिनो काम बाँकी राखेर मुख्य काम असार भित्रै सम्पन्न गर्न कार्यालयका तर्फबाट निर्माण व्यवसायीलाई अनुरोध गरिएको उहाँको भनाई छ ।