• २२ वैशाख २०८१, शनिबार

‘समस्या आउन नदिन बेलैमा आँखाको उपचार’

blog

काठमाडौँ, वैशाख ११ गते । विद्यालय जाने उमेरका बालबालिकाको आँखा जाँच गराउन चिकित्सकको सुझाव छ । आँखा रोग विशेषज्ञ डा.सञ्जीव भट्टराईले विद्यालय जाने उमेरका बालबालिकाको विद्यालय जानुभन्दा पहिले आँखा जाँच गराउन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘बालबालिकाको विकाससँगै आँखाको भिजन कमी वा बढी हुने हुँदा विद्यालय जानुभन्दा पहिले आँखाको भिजन ठिक छ कि छैन भनेर जाँच गर्नुपर्छ ।’ विद्यालय जाने उमेरका बालबालिकामा आँखा जाँच गर्दा अधिकांश बालबालिकामा आँखा सुख्खा हुनेलगायतका समस्या देखिएको उहाँको भनाइ छ । 

उहाँ भन्नुहुन्छ, ‘विद्यालय जाने उमेरका अधिकांश बालबालिकामा आँखा सुख्खा हुने, आँखाको मसल कमजोर हुने, आँखाको पावर घटी–बढी हुने, टाउको दुख्नेजस्ता समस्या लिएर आउने गर्छन् ।’  

बालबालिकाको विकाससँगै आँखाको भिजन कमी वा बढी हुने हुँदा विद्यालय जानुभन्दा पहिले आँखाको भिजन ठिक छ कि छैन भनेर जाँच गर्नुपर्छ ।

आँखा जाँच गर्दा चस्मा लगाउनु पर्ने देखियो भने पनि तुरुन्त लगाइदिन उहाँको सुझाव छ । उहाँका अनुसार आँखाको प्लस माइनस पावरको समस्याको बेलैमा उपचार गरिएन भने दृष्टि कम भएर आँखा बाङ्गो हुने, आँखा अल्छी हुनेजस्ता दीर्घकालीन समस्या निम्तन्छ । 

डा. भट्टराई भन्नुहुन्छ, ‘पावर कमबढी हुने समस्या सामान्य भए पनि उपचार गरिएन भने यसले दीर्घकालीन समस्या निम्त्याउँछ । बेलेमा चिकित्सकको सल्लाहमा चस्मा लगाइयो भने आँखाको पावर घटबढ गर्न सकिन्छ ।’ 

कस्तो समस्या देखिन्छ 

बालबालिकाको आँखामा सामान्यदेखि जटिल समस्या देखिने गर्दछन् । आँखाबाट आँसु जाने बाटो बन्द भएर आँसु बगिरहने, मोतियाविन्दु, अन्धो, जलविन्दुजस्ता जन्मजात समस्या देखिने डा. भट्टराईको भनाइ छ । त्यसको अलावा उज्यालोमा हेर्न गाह्रो हुने, आँखा बाङ्गो हुने, टाउको दुख्ने, आँखामा विभिन्न सङ्क्रमणले गर्दा आँखा पाक्ने, चिलाउने, पोल्ने, रातो हुने, आँखा बन्द गर्न गाह्रो हुने, आँखा पाक्नेजस्ता समस्या देखिने डा.भट्टराईको भनाइ छ ।

 के के छ लक्षण 

आँखामा समस्या भएका बच्चाले टाढाको वस्तु हेर्न गाह्रो हुने, आँखाबाट निरन्तर पानी बगिरहने, उज्यालोमा आँखा खोल्न गाह्रो हुने, बारम्बार आँखा मिचिरहने, बच्चाले एकातिर मात्र टाउको बङ्ग्याउनेजस्ता लक्षण देखिने उहाँको भनाइ छ ।  

कुनै–कुनै समस्या चस्मा लगाएर ठिक हुन्छ भने कुनै औषधीको प्रयोगले पनि निको बनाउन सकिन्छ ।

पढ्ने लेख्ने उमेरका बच्चाले आँखाको समस्याले गर्दा राम्रोसँग पढ्न–लेख्न नसक्ने, ह्वाइट बोर्डको राम्रोसँग सार्न नसक्ने, भनेको कुरा पनि कापीमा टिप्न नसक्ने, कुनै पनि कुरा हेर्दा नदेखेर नजिकै गएर हेर्नेजस्ता लक्षण देखिने उहाँ बताउनुहुन्छ ।  

समस्या हुने कारण 

समय नपुगी जन्मिएका बच्चा, कम तौल भएका बच्चामा आँखाको बढी समस्या देखिने उहाँको भनाइ छ । बढी मोबाइल लगायतका डिजिटल उपकरणको प्रयोग, समय अगावै जन्मिएका बच्चा, कम तौल भएका बच्चा, आमाले बच्चामा कडा खालको औषधी खानुपरेमा बच्चामा आँखाको समस्या हुन्छ । चोटपटक लागेर, इन्फेक्सनका कारण आँखामा समस्या निम्तिने उहाँ बताउनुहुन्छ ।  

उहाँका अनुसार बच्चा गर्भमा रहेको बेला आमालाई रुबेला भाइरसको इन्फेक्सन भएमा, कुनै कारणले एक्सप्रेस गर्नु परेमा, स्वास्थ्यमा समस्या आएर कडा खालको औषधी खानुपरेमा जन्मजात आँखाको समस्या देखिन्छ ।  

उपचार 

आँखाको समस्या जतिसक्दो चाँडो उपचार गरियो त्यति नै छिटो निको हुन्छ । उहाँ भन्नुहुन्छ, ‘कुनै–कुनै समस्या चस्मा लगाएर ठिक हुन्छ भने कुनै औषधीको प्रयोगले पनि निको बनाउन सकिन्छ । मोतियाविन्दुजस्ता दीर्घकालीन समस्याका लागि शल्यक्रिया आवश्यक पर्छ ।’ 

बच्चा जन्मिएको आठ वर्षसम्म बच्चामा भएका आँखाका समस्या पूर्ण रूपमा निको बनाउन सक्ने भएकाले सकेसम्म छिटो समस्या पहिचान गर्न बेला–बेलामा आफ्ना बालबालिकाको आँखा जाँच गर्न उहाँको आग्रह छ । 

आँखाको समस्या जतिसक्दो चाँडो उपचार गरियो त्यति नै छिटो निको हुन्छ ।

‘बच्चाको जन्मदेखि नै आँखाको जाँच गर्न मिल्ने भएकाले आफ्नो बच्चाको आँखामा समस्या भए–नभएको पत्ता लगाउन बेला–बेला आँखा जाँच गराउनुपर्छ । जति छिटो पत्ता लग्यो उपचार पनि सहज हुन्छ’ उहाँले भन्नुभयो । 

आँखाको सुरक्षा 

मोबाइल तथा ल्यापटप चलाउँदा हरेक २० मिनेटमा आँखालाई आराम दिने, बेला– बेला २० मिटर टाढा हेर्दा आँखा झिमझिम गर्ने, आँखालाई धुवाँ धुलोबाट बचाउने, नियमित आँखा परीक्षण गर्ने, जथाभाबी औषधीको प्रयोग नगर्ने, आँखालाई युभी किरणबाट बचाउने, आँखामा चोट पटक लाग्नबाट जोगाउने, प्रशस्त मात्रामा भिटामिन ‘ए’ युक्त खानेकुरा खाने, दिनमा दुई पटक आँखा सफा गर्न चिकित्सकको सुझाव छ ।   

बालकालिकाको आँखामा समस्या भए–नभएको पत्ता लगाउन कम्तीमा ६ महिना बढीमा एक वर्षमा आँखा जाँच गराउन उहाँले आग्रह गर्नुभयो ।  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।