• ९ मंसिर २०८१, आइतबार

घोडाघोडी ताल ढाक्ने झाडी हटाइँदै

blog

घोडाघोडी तालमा फैलिँदै गएको मिचाहा प्रजातिको वनस्पति बेसरम हटाउँदै स्थानीय ।

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), वैशाख ११ गते । जैविक विविधताले महत्वपूर्ण तराईकै ठुलो सिमसार क्षेत्र घोडाघोडी ताल मिचाहा प्रजातिको वनस्पतिले ढाक्दै गएपछि सरसफाइको प्रयास थालिएको छ । २०७८ सालमा प्रदेश सरकारले नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेसँगै पहिलो पटक घोडाघोडी तालको मिचाहा प्रजातिको वनस्पति बेसरमको झाडी हटाउन थालिएको हो  । 

प्रदेश सरकारकै आर्थिक सहयोगमा अहिले घोडाघोडी तालमा बढ्दै गएको बेसरम हटाउन थालिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजन प्रमुख रामविचारी ठाकुरले बताउनुभयो । उहाँले घोडाघोडी तालको उत्तरी भाग बेसरमले ढाक्दै गएपछि ताल क्षेत्र साँघुरिँदै गएको बताउनुभयो । घोडाघोडी तालको उत्तर क्षेत्रको बड्का सिराहा, छोड्की सिराहा, छोट्की छिङ्टिलिया, पूर्वी क्षेत्रको तालको कुना कुनामा बेसरमले ढाकेर ताल देखिँदैन । तीन लाख रुपियाँ आर्थिक सहयोगमा बेसरम हटाउने काम भइरहेको छ । तालको सबैतिर फैलिएको बेसरम हटाउन सो रकम अपुग हुने जनाउँदै डिभिजन वन प्रमुख विचारीले स्थानीय सरकार, सुरक्षा निकाय, संरक्षणको क्षेत्रमा सक्रिय सङ्घसंस्था र सामुदायिक वन उपभोक्ता समूहले बेसरम हटाउने कार्यमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

घोडाघोडी ताल क्षेत्रमा विभिन्न सङ्घसंस्था तथा स्थानीय, प्रदेश र सङ्घीय सरकारले पर्यटन विकासका नाम पूर्वाधार विकासमा केही काम गरे पनि घोडाघोडी तालको संरक्षणमा भने चासो नदेखाएको गुनासो संरक्षणकर्मीको छ । स्थानीय संरक्षणकर्मी कृष्ण चौधरीले सिमसार परियोजनाले पाँच वर्ष घोडाघोडीमा काम गर्दा तालमा मिचाहा प्रजाति हटाउने र संरक्षणमा स्थानीयलाई जागरुक बनाउने गरेको स्मरण गर्नुभयो । एक दशकपछि अहिले घोडाघोडीमा दोस्रो पटक मिचाहा प्रजाति हटाउने कार्यको थालनी भएको उहाँले उल्लेख गर्नुभयो । समय समयमा घोडाघोडी तालमा फैलिँदै गएको मिचाहा प्रजातिको वनस्पति नहटाउने हो भने तालको अस्तित्व नै हराउने सम्भावना बढ्दै गएको स्थानीयको भनाइ छ । ताल पुरिँदै र मिचाहा प्रजातिले ढाक्दै गएपछि तालको जैविक विविधतासमेत सङ्कटमा पर्न थालेको छ ।

यो ताल प्रन्जा आकारमा फैलिएको छ । यसको प्रत्येक कुनामा अनधिकृत रूपमा माछा मार्ने, कमलको फूल, फल टिप्ने कार्यले जैविक विविधता मासिँदै गएको बताइन्छ । घोडाघोडी ताल सन् २००३ मा रामसार सूचीमा सूचीकृत भएको हो । तालको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर रहेको छ । रामसार सूचीमा सूचीकृत हुँदा ताल क्षेत्रमा ठुला तर कम गहिरो गरी २० वटा ताल तलैयालाई समेटिएको थियो । यहाँ सङ्कटापन्न प्रजातिका कछुवा, ओत, गोही, चरा हाँस र अन्य स्तनधारी पाइन्छन् । तालमा ४५० प्रजातिका वनस्पति, २९ प्रजातिका माछा, ३२ प्रजातिका पुतली, एक प्रजातिको गोही, सात प्रजातिका सरिसृप, ४८० प्रजातिका रैथाने र घुमन्ते चरा रहेका उल्लेख गरिएको छ ।