• १२ साउन २०८१, शनिबार

महासंघको संस्थापक टुङ्गो लगाउन संवाद

blog

फोनिज सङ्घीय समितिद्वारा आयोजित संवाद कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल तथा फोनिजका निवर्तमान अध्यक्ष डण्ड गुरुङ ।

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख ९ गते । नेपाल पत्रकार महासङ्घको संस्थापक विषयमा टुङ्गो लगाउन माग गर्दै संवाद कार्यक्रम गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय समितिले आज यहाँ स्थापना दिवसको अवसरमा संवाद कार्यक्रम आयोजना गरेको हो ।

संस्थापक विषय संवेदनशील विषय भएकाले अध्ययन गरी तथ्य र प्रमाणका आधारमा त्यसलाई टुङ्गो लगाउन सरोकारवाला पक्षका नेतृत्वले सुझाव दिनुभएको छ । संस्थापक विषयमा लामो समयदेखि विवाद कायम रहेकाले त्यसको टुङ्गो लगाउनमा विलम्ब गर्न नहुन सबैको आग्रह छ । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले इतिहासलाई कैद गर्न नमिल्ने भन्नुहुँदै त्रुटि भएको छ भने त्यसलाई अध्ययन गरी तथ्य र प्रमाणका आधारमा टुङ्गो लगाउनै पर्ने धारणा राख्नुभयो । आफू नेतृत्वको महासङ्घको कार्य समिति बैठकमा गम्भीरतापूर्वक छलफल भइरहेकाले मापदण्ड बनाएर निष्कर्षमा पुग्न महासङ्घ तयार रहेको उहाँले बताउनुभयो । 


महासङ्घका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले यो विषय लामो समयदेखि उठ्दै आएकाले दस्ताबेजको आधारमा निष्कर्षमा पुग्न आवश्यक रहेको सुझाव दिनुभयो । तत्कालीन नेपाल पत्रकार सङ्घ २००८ सालमा गठन भएको विषयमा कुनै विवाद नरहेको तर त्यसको निरन्तरता अहिलेको महासङ्घ भए नभएको विषय मात्र टुङ्गो लाग्न बाँकी रहेको उहाँले बताउनुभयो । 

फोनिजका निवर्तमान अध्यक्ष डण्ड गुरुङले इतिहास लेखनमा त्रुटि भएमा त्यसलाई सच्याउन तत्पर हुनुपर्ने बताउनुभयो । दस्ताबेजको अध्ययन गरी तथ्य र प्रमाणका आधारमा टुङ्गो लगाउनमा महासङ्घका पदाधिकारीहरू गम्भीर हुनुपर्ने उहाँको सुझाव छ । 

फोनिजका अध्यक्ष गजुरधन राईले महासङ्घको संस्थापकको विषय फोनिजको मात्र एजेण्डा नभई सबैको साझा एजेण्डा भएको बताउनुभयो । संस्थापकको विषयमा निष्कर्षमा पुग्नकै लागि संवाद र स्थापना दिवस मनाएको उहाँले बताउनुभयो । तत्कालीन नेपाल पत्रकार सङ्घ वैशाख ९ गते स्थापना भएकाले अव यस दिनलाई स्थापना दिवस मनाउनमा सबैको पहल र सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।

फोनिजका सल्लाहकार मनोज घर्तीले इतिहास बङ्ग्याउने छुट कसैलाई नभएको र त्रुटि भएको इतिहासलाई तत्काल सुधार्न आवश्यक रहेको बताउनुभयो । वार्ता, संवादकै आधारमा सहमतिमा पुग्न सकिने भन्दै उहाँले महासङ्घ र फोनिज दुवै पक्ष गम्भीर भएर लाग्ने समस्या समाधान हुने बताउनुभयो । 


फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले हिजोको सङ्घकै निरन्तरता आजको महासङ्घ भएकाले समस्या समाधानमा सबैको साझा पहल आवश्यक रहेको बताउनुभयो । नेपाल टुटेका सम्पादक सत्यनारायणबहादुर श्रेष्ठले आफ्नो अगुवाइमा २००८ साल वैशाख ९ गते तत्कालीन पत्रकार सङ्घ गठन गर्नुभएको तथ्य, प्रमाण र लिखतले पुष्टि गरिरहेकाले निष्कर्षमा पुग्न ढिलाइ गर्न नहुने उहाँको सुझाव छ । 

फोनिजले नेपाल पत्रकार महासङ्घ पदाधिकारीहरूसँग संस्थापक विषयमा टुङ्गो लगाउन वार्ता पनि सुरु गरेको छ । औपचारिक तथा अनौपचारिक वार्तामा सकारात्मक पहल भएको र विज्ञ टोली गठन गरेर सो टोलीले दिने प्रतिवेदनका आधारमा निष्कर्षमा पुगिने दुवै पक्षको भनाइ छ । संवाद कार्यक्रममा सहजीकरण नेवा: पत्रकार राष्ट्रिय दवुका पूर्व अध्यक्ष सुरजवीर बज्राचार्यले गर्नुभएको थियो ।