• २१ वैशाख २०८१, शुक्रबार

श्रमदानबाट धरान–साँगुरीगढी पदमार्ग

blog

निशा राई

धरान, वैशाख ८ गते। धरानदेखि ऐतिहासिक साँगुरीगढी जाने पर्यटकीय गन्तव्य श्रम संस्कृति पदमार्ग निर्माणमा धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राईको नेतृत्वमा शनिबारदेखि श्रमदान सुरु भएको छ।

पूर्वको रमणीय स्थलमध्ये साँगुरीगढी एक हो। विगतमा यहाँबाट धनकुटा, तेह्रथुम, संखुवासभालगायत पूर्वी पहाडी क्षेत्रका बासिन्दा पहाड, मधेश आवतजावत गर्ने गन्तव्य रहेको थियो। धरानदेखि साँगुरीगढीसम्म प्रदेश सरकार, केन्द्र सरकार, स्थानीय सरकार र जनश्रमदानको सहयोगमा पदमार्गको बनिरहेको छ। 

पदमार्ग बनाउन गत सालदेखि सुरु गरिए पनि बजेटको अभावमा अलि–अलि गर्दै आएको धरान उपमहानगरपालिकाको स्वकीय सचिव सुदर्शन लिम्बुले जानकारी दिनुभयो। उक्त पदमार्गको सुरुवात गत साल असार ६ गते धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राई र उपप्रमुख आइन्द्रविक्रम बेघाले उद्घाटन गर्नुभएको हो। 

चालु आर्थिक वर्षमा कुल ९७ लाख बजेट आएको र उक्त बजेटको ४० प्रतिशतले पदमार्ग निर्माण गरिएको हो। ६० प्रतिशत वडा नम्बर ४ मा बहुउद्देश्यीय भवन निर्माणमा लगानी गरिएको निर्माण गरिएको स्वकीय सचिव लिम्बुले जानकारी दिनुभयो।



उहाँका अनुसार पदमार्गका लागि छुट्टिएको ३८ लाख ८० हजार बजेटमा २६.५ प्रतिशत कटाएर २८ लाख ५१ हजार आठ सय प्राप्त भएको थियो। २० प्रतिशत श्रमदान भएको थियो।  केन्द्र सरकारबाट पदमार्ग निर्माणका लागि ५० लाख बजेट आएकोले पदमार्ग बनाउन सुरु गरिएको र करिब १२ लाखको जनश्रमदान गर्ने भएकोले श्रमदान सुरु गरिएको उहाँले बताउनुभयो। 

पूर्खाले हिँडेको बाटोलाई पदमार्गको रूपमा विकास गरेर पर्यटकीय आकर्षण बनाउन चाहेको नगर प्रमुख राईले बताउनुभयो। हाम्रो इतिहासलाई र पूर्खाले प्रयोग गरेको सामग्रीको प्रतिमा बाटो–बाटोमा बनाइने भएकाले पूर्खाको सम्झनामा समर्पित भए पनि यसबाट स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि आकर्षित हुने उहाँले बताउनुभयो। यस वर्ष धरानमा श्रमसंस्कृति पार्कमा सबै भन्दा बढी पर्यटक आएको समेत नगर प्रमुख राईले बताउनुभयो।  

नेपाल एकीकरणको क्रममा पृथ्वी नारायण शाहले लिम्बुवान क्षेत्रमा रहेको यो गढीलाई जितेर यही गढी हुँदै पूर्वमा सेना पठाउने गरेको इतिहास रहेको छ। हाल धरान–२० मा रहेको बीपी पार्क, श्रमपार्क हुँदै पदयात्राका लागि उक्त ऐतिहासिक बाटोलाई पर्यटकीय आकर्षण बनाउन संघीय सरकारले पदमार्ग निर्माण बजेट विनियोजन गरेको थियो।