राजविराज, बैसाख ८ गते । राजविराज एवं नेपालकै प्रख्यात छिन्नमस्ता मन्दिर। यो प्राचीन एवं भव्य मन्दिर सदरमुकाम राजविराज बजारबाट करिब १० किमि दक्षिणतर्फ सखडा भन्ने ठाउँमा पर्दछ। नेपाली शैलीमा निर्मित यस मन्दिर भित्र दायाँदेखि बायाँसम्म लहरै शिर छोपिएका ५ वटा मूर्ति रहेका छन्। ती मूर्तिहरूलाई भैरवी, चामुण्डा, छिन्नमस्ता, दक्षिणकाली र मर्हिषमर्दिनी भन्दछन्। छिन्नमस्ता भगवतीको शिर काटिएकोले यस भगवतीलाई छिन्नमस्ता भनिएको हो।
ई.स. १३१० मा नेपालको मध्यपुर्वी तराई क्षेत्रको भूभाग समेत गाभिएको तिरहुत राज्य जसको राजधानी हालको बारा जिल्लाको सिमरौनगढमा पर्दथ्यो। त्यहाँका कर्नाटकबंशी राजा नान्यदेवका पाँचौ पुस्ताका राजा शुक्रदेव सिंहले आफ्ना छोरा कुमार हरिहरसिंहदेवलाई राजप्रतिनिधि बनाई आफू जीवनको शेष भाग बिताउनका लागि सप्तरी आई सखडा भन्ने हाल देवी रहेको ठाउँमा आफ्नो कुलदेवीको रूपमा भगवतीको स्थापना गरी पूजा गरेर बसेका थिए। यिनै शुक्र राजाको नामको अपभ्रंश भएर नै यस ठाउँको नाम सखडा भएको जनविश्वास रहेको छ। यिनै राजाले आफ्ना कुलदेवीको रूपमा शक्रेश्वरीको स्थापना गरे। जसलाई हाल छिन्नमस्ता भगवतीको नामले पुकारिन्छ। यिनै राजाले यस देवीको स्थापना गरेर मन्दिर निर्माण गरेका थिए।
यस मन्दिरको पुनर्निर्माण भने भारतका भु.पु. मन्त्री ललित नारायण मिश्रले गरेका थिए भने हालको मन्दिर स्व. पूर्व राजा वीरेन्द्रबाट वि.स. २०४४ सालमा नेपाली शैलीमा भव्य रूपमा निर्माण गर्न लगाएका थिए।
भवानीको शिर काटिएको सम्बन्धमा भनिन्छ वि.स. १३८५ मा गयासुध्दिन तुगलक र वि.स. १४०६ मा सुल्तान समसुदीन मुसलमानहरूले नेपालमा आक्रमण गर्दा सिरौनगढमा विभिन्न देवदेवीका मन्दिरहरू तोडफोड गरे जस्तै सखडा गाउको यस भगवतीको मूर्ति पनि तोडफोड भई यी भगवतीको मूर्तिलाई त्यही नजिकै रहेको पोखरीमा फयाकी दिएका थिए। पछि सोही भगवतीको शिर काटिएको अवस्थाको मूर्ति पोखरीमा नै फेलापारि स्थानीय भक्तजनहरूले सिर विहीन रूपमा नै सो मूर्ति यहाँ स्थापना गरी मन्दिर बनाएका हुन्।
भगवतीको पाउको तल राँगो र त्यसको शिरको आकार देखिएको कारण बाटै यिनलाई मर्हिषमर्दिनी पनि भनिएको हो भने यिनको शिर काटिन गएको कारणले छिन्नमस्ता पनि भनिन्छ। साथै यी भगवती सखडा गाउँमा रहेको कारणले शखडेश्वरी या खण्डेश्वरी पनि भनिन्छ भनेर मन्दिरका पिठाधिशकान्त ठाकुर बताउनु हुन्छ।
पिठाधिस ठाकुरका अनुसार यस मन्दिरमा विजया दशमीमा विशेष गरी ठुलो मेला लाग्नुको साथै हजारौँ बोका, राँगा, परेवा, कुखुराहरूको बलि पनि दिइन्छ तर यहाँको अनौठो कुरा के छ भने यहाँ दिएका बलिको रगतमा झिँगा आदी बसेको भने हुँदैन। त्यसैले यी देवीलाई साक्षात् देवी मानी भक्तजनहरूले पूजा अर्चना गर्दछन्। पहिला यस मन्दिरमा तान्त्रिक विधिअनुसार पूजा गरिन्थ्यो भने हाल आएर हिन्दु परम्परागतकै पूजा अर्चना गर्ने चलन रहेको छ।
यी भगवतीको पूजा एवं अन्य व्यवस्थाको लागि श्री छिन्नमस्ता भगवती संरक्षण संवध्र्दन समितिको पनि व्यवस्था गरिएको छ। यस भव्य मन्दिर परिसर निकै नै फराकिलो भएकोले परिसरमा विभिन्न देव देवताहरूको मन्दिर एवं मूर्तिहरू, पवित्र पोखरी र भक्तजनहरूको लागि विभिन्न सुविधा समेत रहेको छ।