• २० वैशाख २०८१, बिहिबार

सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब

blog

रघुगङ्गा गाउँपालिका–३ स्थित ज्ञानोदय माविमा स्थापित कम्प्युटर ल्याब ।

दरबाङ समाचारदाता 

म्याग्दी (दरबाङ), वैशाख ७ गते । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको छ । क्वालिटी एजुकेसन नेपाल, अस्ट्रेलिया र एजुटेक नेपाल, न्युजिल्यान्डको आर्थिक सहयोगमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न) ले यसको संयोजन गरेको हो । १५/१५ लाख रुपियाँ लागतमा जिल्लाका अन्नपूर्ण गाउँपालिका–४, स्थित प्रभा मावि, रघुगङ्गा गाउँपालिका–३ स्थित ज्ञानोदय मावि र धवलागिरि गाउँपालिका–४ स्थित बुद्धिविकास माविमा कम्प्युटर ल्याब स्थापना गरिएको हो । 

विद्यालय र दाताबिचको मध्यस्थकर्ता रहेको लर्न नेपालका निर्देशक कृष्ण तिलिजा मगरले सर्भर सिस्टमबाट चल्ने २०–२० वटा कम्प्युटर जडान गरिएको जानकारी दिनुभयो । आधुनिक कम्प्युटर ल्याबका रूपमा स्थापना गरिएको कम्प्युटर कक्षलाई डिजिटल साक्षरताका रूपमा विकास गर्न उपयोग गरिने छ । ल्याबमा फर्निचरलगायतको व्यवस्थापनमा स्थानीय तह र विद्यालयले करिब तीनदेखि चार लाख रुपियाँ खर्च जुटाएको र कम्प्युटर, इन्भटर, सर्भरलगायतको खरिदमा दुई वटा संस्थाले १० लाख रुपियाँ बढी लगानी गरेको लर्नका निर्देशक तिलिजा मगरले बताउनुभयो । 

बुधबार क्वालिटी एजुकेसन नेपाल, अस्ट्रेलियाका अध्यक्ष पिटर जेटी हलले प्रभा मावि र ज्ञानोदय माविको कम्प्युटर ल्याब सम्बन्धित विद्यालयलाई हस्तान्तरण गर्नुभयो । “विद्यालयमा भएका पुराना कम्प्युटर बिग्रिएकाले कम्प्युटरबिना नै कम्प्युटर विषय पढाउने बाध्यता थियो । अब कक्षाका सबै विद्यार्थीलाई एकसाथ कम्प्युटरमा राखेर प्रयोगात्मकसहित अध्यापन गर्न पाउने भयौँ,” ज्ञानोदय मावि व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले भन्नुभयो । डिजिटल साक्षरता अभियानमा समुदायका युवकयुवतीलाई पनि समेट्ने सर्त रहेकाले फुर्सदको समयमा अन्यले पनि कम्प्युटरमा पढ्न र सिक्न पाउने उहाँको भनाइ छ । 

ल्याब हस्तान्तरण गर्दै अध्यक्ष हलले नेपालमा शिक्षण सिकाइमा आनुधिक प्रविधिको उपयोगका लागि एक हजार सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना गर्ने लक्ष्यसहित एजुटेक नेपालसँग सहकार्य गरिएको जानकारी दिनुभयो । ल्याब सञ्चालन गर्न मध्यस्थकर्ता संस्था लर्न नेपालले विद्यालयका दुई दुई जना शिक्षकलाई कम्प्युटर तालिम प्रदान गर्ने भएको छ । यस कम्प्युटर ल्याब सर्भर प्रणालीमा आधारित भएकाले कम्प्युटरमा विद्यार्थीले सिकेका र खोजेका कुराको कम्प्युटर शिक्षकले एउटै कम्प्युटरबाट नियन्त्रण गर्न र नियाल्न सक्ने व्यवस्था गरिएको छ । रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले कम्प्युटर ल्याबका लागि फर्निचनर व्यवस्थापनमा गाउँपालिकाले सहयोग गरेको बताउँदै विद्यालयको थप भौतिक पूर्वाधार निर्माणमा पालिकाले सहयोग र पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।