• १९ वैशाख २०८१, बुधबार

गुल्मीमा सरसफाइ अभियान सुरु

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख ६ गते । बागमती नदी सरसफाइ अभियानका अभियन्ता नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेलले गृह जिल्ला गुल्मीमा पनि सरसफाइ अभियान सुरु गर्नुभएको छ । उहाँले बिहीबार बिहान सदरमुकाम तम्घासबाट सरसफाइ अभियान सुरु गर्नुभएको हो ।

जिल्ला प्रशासन कार्यालय अगाडिदेखि हस्पिटल लाइन हुँदै सुरु गरिएको सरसफाइ अभियानमा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासहित यहाँका विभिन्न तहका जनप्रतिनिधि तथा कर्मचारी र सर्वसाधारणको सहभागिता थियो । पूर्व मुख्यसचिव पौडेलले सरसफाइ अभियान आम नागरिकको सामूहिक अभियान भएको र यसमा गाउँस्तरसम्मको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

"सरसफाइ सभ्य मानिसको परिचय हो । हामी असभ्य होइनौँ, सभ्य मानिसको पहिचान दिन कम्तीमा पनि सातामा दुई घण्टा राष्ट्रका नाउँमा हाम्रो नारा नै छ,’ उहाँले भन्नुभयो, "बागमती सरसफाइ अभियान सुरु गरेको एघार वर्ष भयो । यो अभियान सुरु गरेपछि सरसफाइ अभियान राष्ट्रव्यापी भएको छ । बिस हजार मेट्रिक टनभन्दा बढी फोहर नदीबाट निकालिएको छ । यस अभियानमा १५ लाखभन्दा बढी मानिस सहभागी भएका छन् ।" अहिले शतप्रतिशत नभए पनि करिब ९० प्रतिशत मानिसले जथाभाबी फोहोर फाल्न हुन्न भन्ने कुरामा सचेतना फैलाइएको उहाँले बताउनुभयो । अभियन्ता पौडेलले सहभागीहरूलाई सरसफाइका विभिन्न बुँदामा शपथ ग्रहण गराउनुभयो ।

जिल्लाको सदरमुकाम तम्घास बजार क्षेत्रमा सरसफाइ अभियानको सुरुवात रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले गर्नुभएको हो । उहाँले नगरपालिकाको जिम्मेवारी सम्हाले लगत्तै यस बजार क्षेत्रमा कागजका टुक्रासमेत देखिँदैन । सफा सहरको परिचय बन्न सुरु गरेकै अवस्थामा पूर्व मुख्यसचिव पौडेल पनि सरसफाइ अभियानमा जोडिनुभएको छ । सरसफाइ अभियानलाई जिल्लाको सबै ठाउँमा पुर्‍याउन नागरिकको पनि उत्तिकै दायित्व एवम् जिम्मेवारी रहेको नगरप्रमुख पन्थीले बताउनुभयो । 

सरसफाइ अभियानलाई सार्थक बनाउन सबै एकताबद्ध भएर जुट्न आवश्यक रहेको उहाँको भनाइ छ ।