• ८ जेठ २०८१, मङ्गलबार

रकम हिनामिनाको आरोपमा सांसदविरुद्ध पक्राउ पुर्जी

blog

बोमलाल गिरी

नवलपुर, वैशाख १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेपछि नवलपुर प्रहरीले बस्नेतलाई पक्राउ गर्नका लागि अदालतसमक्ष अनुमति मागेको थियो । 

अदालतले बस्नेतलाई पक्राउ गर्न अनुमति दिएको नेपाल बार एसोसिएसन, नवलपुरका अध्यक्ष चेतप्रसाद डुम्रेले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय नवरपुरले सांसद बस्नेतलाई पक्राउ गर्न आइतबार नै अनुमति मागेको थियो । 

अदालतको आदेशअनुसार जिप्रका नवलपुरले मिसिल पठाएपछि बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको बार अध्यक्ष डुम्रेले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय नवलपुर र गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयका वित्तीय विश्लेषक तथा छानबिनकर्ता निर्मल गौतमले अनुसन्धान गरेको छानबिन प्रतिवेदनले सांसद बस्नेतको संरक्षणमा रकम हिनामिना गरेको तथ्य खुलेको बताउनुभयो ।

पक्राउ अनुमतिबारे सूचना पाएपछि सांसद बस्नेत फरार भएको प्रहरीले जनाएको छ । बस्नेतले चितवनको सनराइज सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाबाट एक करोडभन्दा बढी आफ्ना ज्वाइँ नगेन्द्रबहादुर रिमाल र अन्य साथीमार्फत रकम निकासी गरेको प्रहरी स्रोतको दाबी छ । 

सहकारीको रकम हिनामिना गरेको आरोपमा सनराइज सहकारी चितवनका तत्कालीन अध्यक्ष नगेन्द्रबाबु रिमालसहित छिपछिपेका व्यवस्थापक योगेन्द्र पाण्डे, सहकारीबाट हिनामिना गरिएको रकम व्यवस्थापन गर्ने बर्दियाका शिवलाल लामिछानेलगायत ७ जना एक महिनादेखि नवलपुर प्रहरीको नियन्त्रणमा छन् । 

योगेन्द्र पाण्डे २०७२ सालदेखि २०७९ सम्म ७ वर्ष सहकारी ऐनविपरीत छिपछिपेको अध्यक्ष र व्यवस्थापक रहेको पाइएको छ । सहकारी ऐन अनुसार एउटै व्यक्ति अध्यक्ष र व्यवस्थापक हुन पाइँदैन । पक्राउ पर्नेमा अधिकांश बर्दियाकै छन् । राप्रपाले बर्दियाका बस्नेतलाई प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो ।