• ५ जेठ २०८१, शनिबार

आगलागीबाट १५ घर जलेर नष्ट

blog

केदार तिमल्सिना 

बनेपा, वैशाख १८ गते । काभ्रेपलान्चोकको रोशी गाउँपालिका–४ सानोपोटामा मङ्गलबार मध्याह्न भएको आगलागीबाट १५ घर जलेर नष्ट भएको छ । मङ्गलबार बिहान बारीमा काँडा जलाउने क्रममा हावाहुरी आइ आगो महादेवटार सामुदायिक वनहुँदै बस्ती प्रवेश गरेपछि गाउँमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले आगलागीबाट सानोपोटा गाउँमा रहेका १४ घर जलेर नष्ट भएको जनाएको छ । रोशी गाउँपालिका ४ का पूर्व वडा सदस्य प्रेम तामाङले आगलागीबाट स्थानीय १५ नागरिकको घर जलेर नष्ट भएको बताउनुभयो । 

उहाँले आगलागीबाट मानवीय र पशुधनको क्षति नभए पनि अन्नपात र लत्ताकपडा नष्ट भएको बताउनुभयो । उहाँले हावाहुरीका कारण आगलागी नियन्त्रणमा लिन नसकिएको र अन्य घरमा आगलागी होला भन्ने त्रासमा रहेको बताउनुभयो ।