• ८ जेठ २०८१, मङ्गलबार

पारा तेक्वान्दो स्टार पलेसा सम्मानित

blog

काठमाडौँ, वैशाख १८ गते ।  किंग्स लाउन्ज काठमाडौँले पारा तेक्वान्दो स्टार पलेसा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ । किंग्स लाउन्जका अध्यक्ष रामचन्द्र श्रेष्ठ र सिईओ तथा लाउन्जका डाइरेक्टर कुमार गुरुङले पलेसा र उहाँको प्रशिक्षक कविराजलाई सम्मान पत्रबाट सम्मान गर्नुभएको हो । 

चीनको ताइयानमा गत चैत ४ गते आयोजना भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पलेसा गोवर्धनले पेरिस २०२४ पारालिम्पिकका लागि छनोट हुनुभएको थियो । पलेसा छनोट चरण पार गरेर पारालिम्पिक खेल्न लाग्ने पहिलो नेपाली खेलाडी हुनुहुन्छ । उहाँले गत असोजमा चीनको हाङझाओमा सम्पन्न एसियाली पारा खेलकुदमा पनि ऐतिहासिक कांस्य पदक जित्नुभएको थियो । 

सन् २०२१ मा बहराइनमा सम्पन्न भएको यूथ एसियन गेम्समा पलेसाले ऐतिहासिक स्वर्ण पदक र सन् २०१८ मा भेतनाममा सम्पन्न भएको एसियन पारा तेक्वान्दो च्याम्पियनशिपमा कांस्य पदक जित्नुभएको थियो ।

यसअघि सन् २०२० मा भएको टोकियो पारालिम्पिकमा पलेसाले दुई खेल जित्नुभएको थियो । ओलम्पिकमा दुई खेल जित्ने उहाँ पहिलो नेपाली खेलाडी पनि हुनुहुन्छ । यता कविराजले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । उहाँको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ ।