• १९ वैशाख २०८१, बुधबार

शव नबुझेर आन्दोलनमा पीडित

blog

उपचार गर्ने क्रममा दैलेखकी भीमा गुरुङको मृत्यु भएपछि न्यायको माग गर्दै प्रदेश अस्पतालमा आन्दोलन गर्दै परिवारजन । तस्बिर : ललित बसेल

सुर्खेत समाचारदाता

सुर्खेत, वैशाख ६ गते । दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटका २२ वर्षीय भीमा गुरुङको शव एक हप्तादेखि सुर्खेतस्थित प्रदेश अस्पतालमै रहेको छ । सामान्य पेट दुखाइको उपचार गराउन घरबाट हिँडेर अस्पताल पुग्नुभएकी गुरुङको मृत्यु भएपछि परिवारजनले शव बुझ्न मानेका छैनन् । 

प्रदेश अस्पतालका चिकित्सकले उपचारमा लापर्बाही गरेकाले भीमाको मृत्युभएको आरोप पीडित परिवारको छ । चिकित्सकको लापर्बाहीबाट गुरुङको मृत्यु भएको भन्दै परिवारजनले उचित क्षतिपूर्ति, रोजगारी र आठमहिने शिशुको पालनपोषणको माग गर्दै एक सातादेखि प्रदेश अस्पतालबाहिर आन्दोलनरत छन् । सामान्य अवस्था हो भन्दै पेटमा तीन महिनाको सालनाल रहेकाले सफाइ गर्नुपर्ने भनी अस्पतालमा भर्ना गरिएकोमा पछि एक्कासि जटिल भयो भनी शल्यक्रिया गर्ने क्रममा गुरुङको मृत्यु भएको बताइएको छ । परिवारजनले गुरुङको मृत्युको नैतिक जिम्मेवारी प्रदेश अस्पतालले लिनुपर्ने अडान राखेका छन् । 

घटनालगत्तै पीडित पक्ष, अस्पताल र प्रशासनबिच सहमतिको प्रयास भए पनि सार्थक हुन सकेको छैन । जसका कारण पीडित परिवार प्रदेश अस्पताल तथा कर्णाली राजमार्ग अवरुद्ध पारेर सङ्घर्षमा उत्रिएका छन् । मृतक गुरुङका बुवा गोविन्दबहादुर गुरुङले उपचार गराउन आएको छोरीलाई चिकित्सकको लार्बाहीले मृत्यु गराइएको आरोप लगाउँदै छोरीको मृत्युको नैतिक जिम्मेवारी लिनुपर्ने माग राख्नुभयो । 

पीडित परिवारले तीन सूत्रीय माग राखेको छ । आठमहिने नाबालिकाको पालनपोषणका लागि उचित राहत तथा पठनपाठनको व्यवस्था गर्नुपर्ने, परिवारका सदस्यमध्ये एक जनालाई रोजगारी दिनुपर्ने र घटनाको उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् । मृतक गुरुङका श्रीमान् नमराज बलामीमगरले आफूलाई न्याय चाहिएको बताउनुभयो । उहाँले यदि न्याय नमिलेमा शव अस्पतालमै छोडेर घर फर्कने तयारी गरेको बताउनुभयो । नाबालिकाको पालनपोषण तथा शिक्षादीक्षाको ग्यारेन्टी प्रदेश अस्पतालले नलिएसम्म गुरुङको शव नउठाउने उहाँको अडान छ । 

यता प्रदेश अस्पतालले गुरुङलाई बचाउने भरमग्दुर प्रयास गर्दा पनि सफल नभएको जनाएको छ । अस्पतालले विज्ञप्ति जारी गरी चैत २९ गते एक पिन्ट रगत चढाएर पाठेघर सफा गर्नका लागि अपरेसन थिएटरमा लिएको र सफा गरिसकेपछि बिरामीमा गम्भीर जटिलता देखा परी सोको पहिचान गरेर उपचार गर्दागर्दै बचाउन नसकेको जनाइएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काले उपचारमा संलग्न चिकित्सकले अथक प्रयास गर्दा पनि बचाउन नसकेकोमा दुःख व्यक्त गर्नुभएको छ ।