• १८ वैशाख २०८१, मङ्गलबार

पोखरा महानगरका दुई इन्जिनियर पक्राउ

blog

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख ५ गते । पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिँदा घूस लिएको अभियोगमा दुई इन्जिनियरलाई पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरका इन्जिनियर शिवराज बराल र सब-इन्जिनियर उषा किरण रोकायालाई पक्राउ गरेको हो । 

बराललाई मङ्गलबार साँझ र रोकायालाई चैत २८ गते पक्राउ गरिएको अख्तियार पोखराका उपसचिव जगदीश सिवाकोटीले जानकारी दिनुभयो । बराल र रोकाया दुवै घर नक्सा शाखामा कार्यरत हुनुहुन्छ । अख्तियारले चैत २८ गते सोही घटना संलग्नताको आरोपमा गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई पनि पक्राउ गरेको थियो । 

रोकाया र कुँवर सेवाग्राहीबाट लिएको एक लाख ५० हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ परेका थिए । उनीहरूले एउटै घरको नक्सा पास गर्न पटक पटक घूस लिएको खुलेको अख्तियारले जनाएको छ । पक्राउ परेका तीनै जनालाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइएको सूचना अधिकारी सिवाकोटीले जानकारी दिनुभयो ।