• ९ मंसिर २०८१, आइतबार

सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा बढाईंदै

blog

मङ्गलबार निकालिएको प्रभातफेरीमा नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख लगायत । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, वैशाख ४ गते । नेपालगन्ज उपमहानगरपालिकाले धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ । नयाँ वर्ष २०८१ को प्रारम्भसँगै धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानकै रुपमा अगाडि बढाइएको हो ।

पहिलो चरणमा सचेतना प्रवद्र्धन र कानुनी प्रावधानबारे सचेत बनाउने गरी नेपालगन्ज उपमहानगरपालिका अगाडि बढेको छ । धुम्रपान तथा सुर्तीजन्य पदार्थको कानुनसम्मत विक्री वितरण, सार्वजनिक ठाउँहरुमा पूर्णरुपमा सेवन निषेध तथा आमरुपमा सेवनदर घटाउने उद्देश्यका साथ अभियान थालिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । 

धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनले निम्त्याउने स्वास्थ्य जटिलता, पारिवारिक तनाव र सामाजिक व्यवहारको असरलाई जनमानसमा सञ्चार गर्दै स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ अभियानलाई प्रभावकारीरुपमा अगाडी बढाउने नगर प्रमुख विष्टको भनाइ छ ।

सचेतना प्रवद्र्धनको अभियानसँगै दण्ड, जरिवाना र कारबाहीको प्रक्रियालाई पनि अगाडी बढाउने नीति नेपालगन्ज उपमहानगरपालिकाले लिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । उहाँले सार्वजनिक ठाउँ, निकाय र पसलहरुमा नियमन गर्ने बताउँदै पालना नगरेको पाइए सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ बमोजिम कारबाही गरिने स्पष्ट पार्नुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाले आज बिहान प्रभातफेरी गरेर अभियानको औपचारिक थालनी गरेको छ । धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण, नियमन तथा सचेतनामूलक प्रभातफेरी गरिएको हो । भेरी अस्पतालबाट सुरु भएको प्रभातफेरी त्रिभुवनचोकमा पुगेर समापन भएको थियो । 

प्रभातफेरीमा नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काको पनि उपस्थिति थियो ।

प्रभातफेरी पश्चात आयोजित कार्यक्रमलाई नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी पोखरेल र प्रहरी प्रमुख कार्कीले सम्बोधन गर्दै धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि आम नगरबासीको साथ आवश्यक रहेको बताउनुभयो । स्वस्थ र सुसंस्कृत समाज निर्माणका लागि प्रत्येक नागरिकले स्वतःस्फूर्त धुम्रपान र सुर्तीजन्य पदार्थ त्याग्ने प्रतिज्ञा गर्नुपर्नेमा उहाँहरुको जोड छ । यो अभियानमा नेपालगन्ज जेसिजले पनि सहकार्य गरेको उपमहानगरले जनाएको छ ।

धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनले मुटु रोग, क्यान्सर जस्ता खतरनाक रोगहरुको जोखिम बढाइरहेको छ । एक अध्ययन अनुसार कुल मृत्युको १५ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको छ । २९.९ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ ।