• २१ वैशाख २०८१, शुक्रबार

टीकापुरमा सफाईवाहक भित्रिएपछि नगर सफा

blog

टीकापुर (कैलाली), वैशाख ३ गते । कैलालीको टीकापुरमा फोहोरवाहक भित्रिएपछि बजार क्षेत्र सफा देखिन थालेको छ । फोहोरवाहक भित्रिएसँगै पालिकाले दैनिक फोहोर सङ्कलनलाई तीव्रता दिएपछि नगर सफा देखिन थालेको स्थानीय बताउँछन् । 

नगरपालिकाले एकाबिहानै सरसफाइसम्बन्धी सन्देश बजाउँदै बजार क्षेत्रमा फोहोर सङ्कलन गर्ने गरेको छ । नगरपालिकाको फोहोरवाहक फोहोर बोक्न आउँदा ‘सरसफाइ गरौँ’ भन्ने सन्देशमूलक गीत बजाउँदै आउने गरेको स्थानीय गणेश चौधरीले बताउनुभयो । टीकापुर बजार क्षेत्रमा दैनिक पाँच ट्राली फोहोर सङ्कलन हुने गरेको छ । फोहोर सङ्कलनका लागि नगरपालिकामा नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत गत वर्ष नै ‘गारबेज कम्प्याक्टर मेसिन’ (फोहोर बोक्ने मेसिनसहितको बहान) समेत प्राप्त भएको छ । 

उक्त मेसिन सुदूरपश्चिममै ठुलो रहेको नगरपालिका कार्यालयले जनाएको छ । पालिकाभित्र फोहोर सङ्कलन गर्न दुई वटा ट्राली र एउटा फोहोर वाहक दैनिक प्रयोग हुने गरेको छ । साथै १४ जना सरसफाइकर्मी दैनिक सरसफाइमा जुट्ने गरेका छन् । “बिहान ५ बजेदेखि सरसफाइ सुरु गर्छौ, नगरवासीले डस्टबिन (फोहर फाल्ने भाँडो) मा फोहोर राखिदिएमा सहज हुने थियो”, सरसफाइकर्मी कालुराम डगौरा थारुले भन्नुभयो, “फरक–फरक खालका फोहोर फरक भाँडोमा राखिदिएमा हामीलाई सजिलो हुने थियो । नगरवासीले सबै खाले फोहोर एउटै डस्टबिनमा राख्ने गर्नुहुन्छ ।”

विगतमा बजार क्षेत्रमा मात्र सरसफाइ गरिने गरिएको थियो । हाल सेवा विस्तार गरी वडा नम्बर १ का केही ब्लक, वडा नम्बर ५ को टीकापुर पार्क रोड, वडा नम्बर २, वडा नम्बर ३ का बजार क्षेत्रमा समेत सरसफाइ गर्न थालिएको डंगौराले जानकारी दिनुभयो । सरसफाइकर्मी सञ्जु कुश्मीले हरेक दिन बिहान ६ घण्टा सरसफाइमा खट्ने गरेको बताउनुभयो । “सरसफाइ गर्दा चोट पटक लाग्ने, कहिलेकाहीँ सुई (सिरिन्ज), सिसाले काट्ने डर हुन्छ”, उहाँले भन्नुभयो, “फोहोरमा काम गर्दा विभिन्न रोग लाग्ने, चोट पटक लाग्ने भएकाले पालिकाले स्वास्थ्य बिमा गरिदिनुपर्ने माग गरिरहेका छौँ ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्द्धन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ जारी गरी देशका विभिन्न पालिकामा उक्त कार्यक्रम लागू गरेको हो । पहिलो वर्ष टीकापुरसहित सुदूरपश्चिमका चार पालिका छनोटमा परेका छन् । टीकापुरमा फोहोर व्यवस्थापन र गौशालामा ग्यास उत्पादनमा लगानी गरिएको नगरपालिकाका इन्जिनियर नवराज जोशीले बताउनुभयो । “हामीले नवप्रवर्द्धन कार्यक्रममार्फत प्रदेश सरकार र स्थानीय तह मिलेर सरसफाइका क्षेत्रमा लगानी गर्‍यौँ”, उहाँले भन्नुभयो, “नगर सफा राख्न र वडा नम्बर २ मा रहेको गौशाला व्यवस्थापन, गोबरबाट ग्यास उत्पादन, गोबर मल उत्पादनमा समेत लगानी गरेका छौँ ।” 

नवीनतम सोच, अवधारणा, लगानीको ढाँचा र प्रविधिका माध्यमबाट फरक तरिकाले उद्यमशीलता, सीप विकास, वस्तु तथा सेवाको उत्पादन तथा वितरणमा यस कार्यक्रमले सहयोग गर्ने इन्जिनियर जोशीको भनाइ छ । नगरपालिकालाई फोहोर सङ्कलनमा समस्या नभएको भन्दै व्यवस्थापन तथा फोहोर फाल्ने ठाउँको केही समस्या रहेको नगरपालिकाका सरसफाइ उपशाखा प्रमुख लोकबहादुर बुढाले बताउनुभयो । 

हाल अस्थायीरुपमा फोहोर व्यवस्थापन गरिँदै आएको उहाँको भनाइ छ । कार्यपालिकाले टीकापुर नर्सरीको १० कठ्ठा जमिनमा ल्याण्डफिल साइट बनाउने निर्णयसँगै बजेट व्यवस्था गरेकाले केही सहज हुने बुढाले बताउनुभयो । “अहिलेसम्म सङ्कलित फोहोर व्यवस्थापनमा समस्या छ”, उहाँले भन्नुभयो, “केही दिन अघिको कार्यपालिका बैठकले ठाउँ र बजेट व्यवस्था गरेको छ । अब फोहोर व्यवस्थापनमा सहज हुनेछ ।” रासस