• १३ साउन २०८१, आइतबार

फास्ट ट्र्याकबाट मलको व्यवस्था गर्न निर्देशन

blog

काठमाडौँ, वैशाख ३ गते ।  कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले रासायनिक मलको समस्या सधैँका लागि समाधान गर्न खरिद प्रक्रिया छोटो गर्न निर्देशन दिनुभएको छ । कृषिमन्त्री साहले आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्रालयका अधिकारीलाई सो निर्देशन दिनुभएको हो । रासायिनक मल खरिद प्रक्रिया लामो भएकाले यसको समस्या समाधान नभएको भन्दै उहाँले यसको प्रक्रिया कसरी छोटो गर्न मिल्छ गर्नुहोला भन्दै निर्देशन दिनुभयो । 

कृषि सचिव डा. गोविन्द शर्मा, सहसचिव डा. राजेन्द्र मिश्र, सहसचिव, सवनव शिवाकोटीलगायत कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख विष्णु सुवेदीलगायतको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा मन्त्री साहले भन्नुभयो, “म मन्त्रीको ठाउँबाट के के गर्नु पर्छ म सबै गर्न तयार छु तर तपाईंहरू छोटो प्रक्रियाबाट अगाडि बढाउनूस् ।”

खरिद प्रक्रियाका लागि ऐन कानुनहरू बन्दै गर्छन् तर त्यसका लागि अरू केही कार्यविधि वा निर्देशिका अथवा अरू केही गरेर प्रक्रिया छोट्याउन सकिन्छ भने छोट्याउनूस् त्यसका लागि आफू सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो । 

“फास्ट ट्र्याकबाट मल ल्याएर स्टोर गरेर राख्नु पर्छ, किसानलाई चाहिएको बेलामा मात्र होइन, त्यसअघि नै खरिद गरी स्टोर गरी राख्नु पर्छ र चाहिएको बेला किसानलाई वितरण गर्नु पर्छ,” उहाँले भन्नुभयो । 

कृषि सचिव शर्माले नेपालको खरिद प्रक्रिया नै झन्झटिलो छ, त्यसलाई कसरी सजिलो बनाउन सकिन्छ त्यसका बारेमा छलफल भइरहेको बताउनुभयो । सार्वजनिक खरिद ऐन संसद्ले बनाउने हो, त्यसका लागि प्रक्रिया सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । अहिले रासायनिक मलको कुनै समस्या छैन, किसानको आवश्यकता अनुसार आपूर्ति भइरहेको बताउँदै उहाँले हाल पनि मल मौज्दात रहेको र केही आउने क्रममा रहेको जानकारी दिनुभयो । 

बोलपत्र आह्वान तथा जिटुजीमार्फत मल खरिद हुने गरेको बताउँदै उहाँले भारतसँग भएको जिटुजी प्रक्रियाबाट मल खरिद गर्नुभन्दा पनि बोलपत्रबाट खरिद गर्दा सजिलो भएको बताउनुभयो । 

अहिले वितरण प्रक्रियामा पनि सुधार भएको दाबी गर्दै उहाँले स्थानीय तहले वितरण प्रक्रियामा ध्यान दिए भने अझै सुधार हुने बताउनुभयो । हाल युरिया ७५ हजार ९६६, डिएपी १६ हजार ८३५ र पोटास छ हजार २३४ मेट्रिक टन मौज्दात रहेको कृषि मन्त्रालयले जनाएको छ ।